नायक पल शाहले प्रहरीसामु आफैँ उपस्थित हुने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।
जाहेरी दर्ता भएको तीन दिन बितिसक्दा पनि जबरजस्ती करणीका अभियुक्त पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
उनीविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेको थियो । पल काठमाडौँभित्रै लुकेर बसेको आशङ्कापछि जिल्ला प्रहरी कार्यालय तनहुँले जाहेरी दर्ता भएको भोलिपल्टै पक्राउका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्रसहित अनुरोध गरेको थियो ।
काठमाडौँ परिसरले खोजीका लागि मातहतको १४ वटै वृत्तलाई निर्देशन गरेको थियो । यस क्रममा प्रहरीले पल नजिकका आफन्त मात्र नभई सङ्गतका साथीसँग समेत सोधपुछ गरेको थियो ।
तर, उनलाई पक्राउ गर्न भने प्रहरीले सकेको छैन । आज पलले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र फिल्म 'म यस्तो गीत गाउँछु २' गत शुक्रवार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी प्रहरी सामु उपस्थित हुन नसकेको भन्दै माफी समेत मागेका छन् । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु आफै उपस्थित हुने उनले जानकारी दिएका हुन् ।
यस्तो छ पलको फेसबुक स्ट्याटस :-
नमस्कार सबैमा , मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म "म यस्तो गित गाउछु २" गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद