– नेपालको सत्ता परिवर्तनका लागि ३ सय मिलियन डलर पेरिसदेखि नेपाल आउँदैछ ।
– चुनाब तपाईहरु गराउनुहुन्छ, भोट तपाईहरु दिनुहुन्छ, सरकार तपाईहरु बनाउनुहुन्छ तर, त्यो सरकार...?
– मनि इज पावर, पावर इज एभ्रिथिंङ अर्थात् पैसा नै शक्ति हो, पावर नै सवथोक हो ।
वर्तमान राजनीतिसँग मिल्दोजुल्दो देखिने माथिको ‘डायलग’ बहुप्रतिक्षित नेपाली चलत्रिचत्र ‘लप्पन छप्पन २’ का हुन् । यी डायलगबाटै स्पष्ट हुन्छ कि– चलचित्रले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ ।
नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेल हुने गरेको समाचार बेलाबेलमा सुनिन्थ्यो, अब कसरी हुँदोरहेछ भन्ने कुरा थाहा पाउन भने तपाईंले यहीँ फागुन २० गते शुक्रबार हलमा चलचित्र हेर्न पुग्नुपर्नेछ । चलचित्रबारेका सबै कौतुहलता मेटिनेछन्, त्यसका लागि ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने मिति फागुन २० गते अर्थात शुक्रबारसम्म पर्खिनुपर्नेछ ।
फागुन २० गतेदेखि नेपालभर एकैसाथ प्रदर्शमा आउन लागेको बहुप्रतिष्ठित चलचित्र ‘लप्पन छप्पन २’ ले नेपालको वर्तमान राजनीति अवस्थाको सचित्र वर्णन त गर्ने नै छ, सँगै हलमा पुगेका दर्शकहरुले कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, शिव श्रेष्ठलगायतको भरपुर एक्सनको मज्जा पनि लिन पाउनेछन् ।
फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
अहिले चलचित्रको प्रचाप्रसारमा लागेको निर्माण पक्षले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक मुकुन्द भट्टले चलचित्रले नेपालमा विदेशी शक्तिले कसरी सत्ता परिवर्तन गर्छन् र कालो धन कसरी आउँछ भन्ने कुरा देखाउन खोजिएको बताए ।
उनी दाबी गर्दै भन्छन्, ‘एक्सनसहित राजनीतिक कथावस्तु चलचित्रमा समावेश छ । चलचित्र हर्ने मज्जा आउँछ, कति बेला सकियो भन्ने दर्शकलाई लाग्छ ।’
कलाकार अर्पण थापा चलचित्र आशालाग्दो बनेको दाबी गर्छन् । उनी भन्छन्, ‘लप्पन छप्पन १ भन्दा लप्पन छप्पन २ राम्रो बनेको छ । ए लेभलको चलचित्र छ । धेरैले कुरिरहेको र आश गरेको चलचित्र छ ।’
नायक शिव श्रेष्ठले चलचित्र क्षेत्रमा ४० वष काम गर्दा लप्पन छप्पन २ मा उत्कृष्ट रोल पाएको भन्दै खुसी व्यक्त गरे । चलचित्र लप्पन छप्पन २ को तारिफ गर्दै उनले भने– ‘यो चलचित्र निर्देशक मुकुन्द भट्टजस्तो निर्देशक नेपाली चलचित्र क्षेत्रलाई चाहिन्छ ।’
चलचित्रका निर्माता सुदीपचन्द्र बख्रेलेले हलिउड चलचित्रमा प्रयोग गरिने लेभलको प्रविधि लप्पन छप्पन २ निर्माण गर्दा प्रयोग गरिएको बताए । चलचित्रले वर्तमान नेपाली राजनीतिको यथार्थ चित्रण गरेको उनले जानकारी दिए ।
फिल्म पछाडि भए देश पछाडि हुने बताउँदै बख्रेलले भने, ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ जोश र जाँगरका साथ केही नयाँ गर्नुपर्ने उद्धेश्यका साथ १० वटा फिल्म बनाउने यहाँहरुसमक्ष जानकारी गराउँदछु ।’
देश तथा विदेशका विभिन्न ठाउँमा ३ वर्ष लगाएर सुटिङ गरिएको चलचित्रलाई सकारात्मक प्रतिक्रिया आइरहेको छ । त्यसकारण पनि चलचित्रले राम्रो व्यापार गर्नुका साथै कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षको छ ।
‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी छ भाषामा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा सुदीपचन्द्र बख्रेल, चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र बख्रेल निर्माताको रुपमा छन् । मिडिया सुपरभाइजरमा ऋषब ओझा रहेका छन् ।
पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।