दमौलीको स्थानीय भूपाल हार्डवेयर पसलको गोदामबाट आइतबार बिहान साढे १० बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग भएको छ । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो ।
उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पनि काठमाडौंबाट पानीसहितको हेलिकप्टरमा दमौली गएका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । दमकललगायत सुरक्षाकर्मी आलो नियन्त्रणका लागि लागिरहेका छन् ।
क्षतिको विवरण आउन बाँकी छ ।