नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले स्थानीय तह निर्वाचनका लागि लोकतन्त्र दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गरेको हो । सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरे ।
घोषणा पत्रमा नेकपा (एमाले) र माओवादी पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी उल्लेख गरिएको छ ।
एमाले अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यब्ग्य र कटाक्ष गर्दै आएको आरोप घोषणा पत्रमा लगाइएको छ । संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय नहुने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
घोषणा पत्रमा भनिएको छ, ‘नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।’