मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले भिडियो सार्वजनिक गरेकी छन्।
बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एक युवतीले आफूमाथि भएको बलात्कारको घटना सार्वजनिक गरेकी हुन्। उनले बनाएको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। साथै, उनको न्यायका लागि आवाज पनि उठिरहेका छन्।
ती युवतीले भिडियोमा २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा आफूमाथि बलात्कार भएको उल्लेख गरेकी छन्। उनले बलात्कार गर्ने को हुन भन्ने खुलाएकी छैनन् ।
तर, उनलाई बलात्कार गर्ने ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे रहेको खुलेको छ। उनको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यस विषयमा बुझ्न खोज्दा पोण्डेले फोन उठाएनन्।
त्यसमा युवतीले अनलाइन खबर डटकमका फोटो पत्रकार रहेको पनि खुलाएकी छन्। उनली उक्त प्रतियोगिताका फोटोपत्रकार थिए। उनको संलग्नता के हो भन्ने खुलेको छैन।
उनले भिडियोमा खुलाएअनुसार मिस ग्लोबल नामक ब्युटी प्याजेन्ट सकिएपछि सक्सेस पार्टीमा उनीमाथि बलात्कार भएको हो। उनले भनेकी छन्:
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाए। म त्यहाँ पुग्दा कोही थिएनन्। किन कोही नभएको भनेर सोध्दा पाण्डेले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच–छ बजेबाट पार्टी सुरू हुन्छ’ भने। एकछिन बसेपछि मलाई ’लेमोनेड’ खान दिए।
लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लागे। तर, पाण्डेले अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे। यसपछि मलाई राम्ररी होस छैन। होसमा आउँदा पाण्डेले मलाई बलात्कार गरिरहेका हुन्थे।
बिहान घर जाने बेलामा पाण्डेले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याए। उनलै ट्याक्सी बोलाएर मलाई घर पठाए। झोलामा २० हजार रुपैयाँ राख्यो। म त्यति बेला आफू १६ वर्षकी थिए। पाण्डेले त्यसपछि छ महिनासम्म मलाई बलात्कार गरे।
म ६ महिनापछि खड्का थरका आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बतायौं। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाए। आफ्ना साथीले पाण्डेलाई कुटपिट गरे। उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाए।
माल्भिका सुब्बा पनि मुछिइन्
उक्त घटनामा मिस नेपाल २००२ माल्भिका सुब्बा पनि मुछिएकी छन्। आफूमाथि बलात्कार भएको सार्वजनिक गर्ने युवतीले भिडियोमा सुब्बाको नाम लिएकी छन्।
घटनाबारे जानकारी दिँदा सुब्बाले केही गर्न नसक्ने भन्दै गैरजिम्मेवार तरिकाले जवाफ दिइएको आरोप भिडियोमा लगाइएको छ।
त्यसबारे उनले भनिन्, ‘मिस नेपाल सुब्बालाई कल गरे। तिम्रो समस्या मलाई किन सुनाइरहेको भन्नेर जवाफ दिनुभयो।’
उक्त घटना सार्वजनिक भएपछि सुब्बाको आलोचना भइरहेको छ। कतिपयले उनलाई नराम्रो कमेन्ट गर्न थालेपछि इन्स्टाग्राम अकाउन्ट कमेन्ट गर्न नमिल्ने बनाएकी छन्।
नेपाल प्रहरीले घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएको तर हालसम्म उजुरी नपरेको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे प्रहरीले आफैं अनुसन्धान सुरु गरेको जानकारी दिए। उनले बलात्कार भएको भिडियो सार्वजनिक गर्ने युवतीलाई सम्पर्क गर्नेदेखि थप विषयमा अनुसन्धान सुरु गरिएको बताए।