काठमाडौं महनागरपालिकाका नवनिर्वाचि मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।
'आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं,'साहले भने ।
काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।