काठमाडौं। तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइएको छ।
सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० जनाको शव ल्याइएको हो। शवलाई पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ। पोष्टमर्टमपछि शव आफन्तको जिम्मा लगाइनेछ।
दुर्घटना भएको जहाजमा २२ जना सवार रहे पनि हालसम्म २१ जनाको शव मात्रै फेला परेको छ। एकजनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। उक्त जहाज सोमबार बिहान मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।