दाङ। लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई कारबाहीको माग राख्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि धर्ना दिएका छन्।
महिलाहरुले मन्त्री वलीविरुद्ध नाराबाजी पनि गरेका छन्। मन्त्री वलीले महिला र बालिकामाथि हातपात गरेको आरोप लागेको छ।
आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा गएकी वलीले घरभित्र छिरेर ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले अहिले विमला वलिलाई इलाका प्रहरी कार्यालयमा राखेको छ।
सम्बन्धित समाचारः
‘प्रेमी’को घर पुगेर कुटपिटमा उत्रिएकी लुम्बिनीकी राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
उनी नेकपा माओवादी केन्द्रबाट सांसद हुन्। उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्।
०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला यहाँबाट निर्वाचित भएकी हुन्। तत्कालीन नेकपा विघटन भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि बिमलाले माओवादी पार्टी रोजेकी थिइन्।