काठमाडौं। राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) भिमकान्त भण्डारीले ४ वर्षमै ६ करोड २४ लाख रुपैयाँ बढी कमाएको पाइएको छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भण्डारीले पदको दुरुपयोग गरी ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।
२०७३ असोज २१ गते जागिर सुरु गरेर भण्डारीले २०७७ साउन १ गतेदेखि स्वेच्छिक अवकाश लिएका थिए। भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, उनले जागिर सुरु गर्न पूर्वको बचत गरेर जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आय आर्जन गरेको देखिन्छ।
तर, उनले जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दात जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रहेको पाइएको छ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
उनलाई कैद, जरिवाना असुल तथा गैरकानूनी सम्पत्ति जफत गर्न माग गरिएको छ।