काठमाडौं। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ।
मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। लामिछानेले मंगलबार नै निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए।
तर, बुधबार स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले लामिछानेले दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।
उनले ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै उजुरी दिएको उल्लेख गरेका छन्।
उजुरीमा लामिछानेलाई धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीको गम्भीर आरोप लगाइएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै दिइएको उजुरी पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’
त्यस्तै, लामिछानेविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, पुष्कर शाह, राजकुमार बजगाईंले पनि उजुरी दिएका छन्।