काठमाडौं। तत्कालीन नेकपाका ५ शीर्ष नेताहरूबीचको भेटवार्ता सकिएको छ।
मंगलबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सांसद वामदेव गौतमबीच भेटवार्ता भएको थियो।
सम्बन्धित समाचारः
समाजवादी केन्द्र बहसः तत्कालीन नेकपाका ५ शीर्ष नेताहरू छलफलमा
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरुबीच पार्टी एकीकरणबारे छलफल भएको जानकारी दिए। उनले विचार मिल्नेहरुसँग एकताको सम्भवना तथा पार्टी एकीकरणबारे छलफल भएको बताए। उनले आफूहरु अब नजिक हुँदै जाने समेत दाबी गरे।
बैठकमा गठबन्धन कायमै राखेर जाने तर प्रभावकारी कसरी बनाउने भन्ने चर्चा भएको छ।
उनी तत्कालीन नेकपाका सचिवालय सदस्य थिए। नेकपा विभाजन भएपछि उनीहरु हाल अलग–अलग पार्टीमा छन्। यसअघि पनि उनीहरुबीच भेटवार्ता भएको थियो।
यसअघि आजै दिउँसो प्रचण्ड र जसपाबाट कारवाहीमा परेका बाबुराम भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा भेटवार्ता भएको थियो।
बैठकपछि एक दुई दिनमै छलफलमा टुंगोमा पुग्ने बताइएको थियो। प्रचण्ड र बाबुरामले आगामी निर्वाचन अगाडि नै समाजवादी केन्द्र बनाउनेबारेमा छलफल गरेको बताइएको छ।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो। त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।
एकीकृत समाजवादीका नेताहरू पनि समाजवादी केन्द्र बनाउने कुरामा सहमत छन्।