काठमाडौं। संसदीय छानबिन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समितिसमक्ष बयान दिएका छन्।
अर्थ मन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उनीमाथि समितिले छानबिन गरिरहेको छ।
समितिलाई बयन दिने क्रममा शर्माले अनधिकृत व्यक्तिको प्रवेश अर्थ मन्त्रालयमा नभएको जिकिर गरे। शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए।
स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए। अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनले बताए।
समितिमा उनले सीसीटीभीमा फुटेज स्टोरेजको अवधि आफूलाई थाहा नभएको बताएका छन्। ‘सिसिटीभीले कहिलेसम्मको दृश्य राख्न सक्छ यस विषयमा म जानकार हुने कुरा भएन। यसबारे विज्ञहरुसँगै सोधपुछ गर्दा राम्रो होला। मबाट कसैलाई पोस्ने काम भएको छैन र हुनेछैन,’ समिति समक्ष शर्माले भनेका छन्।
चौतर्फी विरोधपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए। सिसीटिभीको फुटेज डिलिट भएको पाइएपछि डिलिट भएका फुटेजलाई रिकभर गरेर हेर्न समय लाग्ने भन्दै समितिले थप एक साता समय माग गरेको छ।
समितिले विभिन्न चरणमा थप छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।