काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज प्रतिवेदन बुझाएको छ।
चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको समितिले शुक्रबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो।
सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई समितिले तयार गरेको प्रतिवेदन पेश गरे।
त्यसपछि बसेको प्रतिनिधिसभाको बैठकमा उक्त प्रतिवेदन संसद बैठकमा कर्णले पेश गरेका छन्।
आरोप अनि राजीनामा
पूर्व अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछि उनले असार २२ गते राजीनामा दिएका थिए।