काठमाडौं। सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो। तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए।
यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो।
अब मंसिर ४ गते आइतबार प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।
म्यादीमा भर्ना खुल्दै
सरकारले चुनावको मिति घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ।
उक्त चुनावमा स्थानीय तहको निर्वाचनमा खटिएका र पूर्वसुरक्षाकर्मीहरुलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ। स्थानीय तहको निर्वाचनमा १ लाख १९ हजार म्यादी प्रहरी खटाइएका थिए। चुनावमा म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ।
नामावली संकलन स्थगित
यस्तै, निर्वाचन आयोगले शुक्रबारदेखि नामावली संकलन स्थगित गर्ने भएको छ।
निर्वाचनको मिति घोषणा भएपछि आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्ने भएको छ।
आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको थियो।