काठमाडौँ । भदौ ७ गते अर्थात आज नेपाल बन्दको घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीसँगको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पक्राउ पुर्जी विरुद्ध आज ४ कम्युनिस्ट पार्टीले बन्दको घोषण गरेका हुन् ।
यसैबिच काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।
काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।
राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।
काठमाडौंको थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार भएको छ। जसबाट बसमा सामान्य क्षति भएको छ।
उता दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।
यस्तै कैलालीमा पनि बन्दको प्रभाब परेको छ । कैलालकिा दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेका हुन् । कैलालीमा फेला परेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारिसकेको छ।