काठमाडौँ । अध्ययनका लागि भिसा पर्खेर बसिरहेका नेपाली विद्यार्थीलाई अष्ट्रेलियन इमिग्रेसनले चिठी पठाएको छ। इमिग्रेसनले चिठी पठाउँदै पहिला नबुझाएको सबै कागजात अबको साताभित्र बुझाउन भनेको छ।
यस्तै चिठीमा विशेष गरेर विद्यार्थीको अध्ययन योजना पुरा हुन चाहिने आर्थिक व्यवस्थापन तथा प्रायोजन गर्ने फाइनान्सियल स्पन्सरको बारेमा थप कागजातहरू मागिएको छ। इमिग्रेसनले व्यवसायको मालिक तथा साझेदारी भएको खण्डमा व्यवसायको स्थायी लेखा नम्बरको प्रमाणपत्र, स्वामित्व तथा साझेदारी खुल्ने गरी आधिकारिक संस्थाबाट जारी भएको व्यवसाय दर्ता, व्यवसायको गत ३ वर्षको आम्दानी कर चुक्ता र व्यवसायको बैङ्क खाताको गत १२ महिनादेखिको स्टेटमेन्ट पठाउन भनेको छ।
यदि स्पन्सरको आयआर्जनको स्रोत व्यवसाय होइन र तलब हो भने गत १२ महिनाको व्यक्तिगत बैङ्क खाताको स्टेटमेन्ट तलब खाता, बचत खाता अथवा अन्य कुनै बैङ्क खाता जो स्पन्सर वा विद्यार्थीको नाममा छ। ठुलो रकमको डिपोजिट भएको खण्डमा त्यसको स्रोतको व्याख्या र प्रमाण पनि उपलब्ध गराउनु पर्नेछ, रोजगारदाताबाट गत १२ महिनादेखि पाएको तलबको प्रमाण, रोजगारदाताले दिएको रोजगारी स्पष्ट हुने चिठी, व्यक्तिगत स्थायी लेखा नं प्रमाणपत्र, गत ३ वर्षको आम्दानी कर चुक्ता, जग्गा बेच्ने र किन्ने दुवैको जानकारी रहेको लालपुर्जा, जग्गा बेचेको मितिबाट अहिलेसम्मको अद्यावधिक बैंक खाता स्टेटमेन्ट, सम्बन्धित मालपोत कार्यालयबाट प्रमाणित मोठ श्रेष्ठा, जग्गा बेच्नुभन्दा ३ वर्ष अगाडिदेखिगाउँपालिका, नगरपालिकाबाट जारी भएको तिरो तिरेको रसिद पठाउन भनेको छ ।
यस्तै शैक्षिक कर्जाको खण्डमा बैङ्क खाताको स्टेटमेन्ट, शैक्षिक कर्जा डिस्बर्स भएदेखी अहिलेसम्मको अद्यावधिक स्टेटमेन्ट,ऋण खाताको स्टेटमेन्ट शैक्षिक कर्जा अनुमोदन भएदेखि अहिलेसम्मको अद्यावधिक स्टेटमेन्ट, धितो बन्धकको विवरण, जग्गाधनीको जानकारी खुलेको लालपुर्जा, ऋण अनुमोदन हुनुभन्दा ३ वर्ष अगाडिदेखि गाउँपालिका, नगरपालिकाबाट जारी भएको तिरो तिरेको रसिद पठाउन भनिएको छ।
यसअघि गलत तथा नक्कली कागजात नै अष्ट्रेलियाको भिसा रिजेक्सन (अस्वीकृत)को कारण रहेको पाइएको थियो।अष्ट्रेलिया जानका लागि निवेदन दिँदा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया सरकारको गृह विभागले जनाएको थियो।
यसका साथै, बैंकबाट गरिने आय प्रमाणीकरण, सम्पति मूल्याङकन नक्कली हुनु तथा विश्वसनीय नबनाइँदा भिसा रिजेक्सन बढेको विभागले जनाएको थियो।