काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिकामाथी जबरजस्ती करणीको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
१७ वर्षीया नाबालिकामाथी जबरजस्ती करणीको आरोपमा महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा जाहेरी परेको हो ।
गौशाला प्रहरी वृत्तका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । प्रहरीका अनुसार ती नाबालिकालाई लामिछानेले भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी राती काठमाडौँ ९ स्थित एक होटेलमा पटक पटक जबरजस्ती करणी गरेको जाहेरी दरखास्त प्राप्त भएको जनाएको छ ।
प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको समेत जनाएको छ ।
अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको जनाएको छ । सन्दीप अहिले नेपालमा छैनन्। उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।
यस्तो छ प्रहरीको प्रेस विज्ञप्ती :-
नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछाने उपर जवरजस्ती करणी (जजक) कसूरमा प्रहरी बृत्त गौशालामा परेको जाहेरी दरखास्त सम्बन्धी: गौशाला २६ (छ) ०७९/०८० ले निजको नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई जि. स्याङ्जा आरुचौर गा.पा. स्थाई वतन भई हाल काठमाण्डौ बुढानीलकण्ठ न.पा. बस्ने अं. ५’७” उचाई, गहुँगोरो, पातलो वर्णको नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अं. २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अं. ००:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त दिएको । प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र One Door Crisis Management Center (OCMC) मा लगी बिस्तृत स्वास्थ्य परीक्षण गराइएको । अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भई रहेको ।