काठमाडौं। बलात्कार आरोपपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबारे अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले चासो राखेको छ।
प्रहरीमा उजुरी परेपछि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)सँग लामिछानेबारे चासो राखेको हो।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सन्दीपबारे आईसीसीले बारम्बार चासो राखिरहेको बताए। उनले बलात्कारको मुद्दा भएकोले आईसीसी पनि गम्भीर रहेको बताए।
उनले घटनाबारे सन्दीपसँग कुरा गरेको बताए। सो क्रममा सन्दीपले सीपीएर सकेर नेपाल फर्किने र राम्रो वकिल खोजिदिन आग्रह गरेको मल्लले जानकारी दिए।
सीपीएलको टिमलाई पनि घटनाबारे जानकारी भइरहेको तर खेल्न समस्या नरेहको सन्दीपको भनाइ थियो।
कप्तान लामिछानेविरुद्ध एक नाबालिगले बलात्कार गरेको आरोप लगाउँदै बुधबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।
ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत फ्यानका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन्।
किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको पिंगलास्थानको होटेल काठमाडौं इनमा लगेर आफुलाई लामिछानेले बलात्कार गरेको उल्लेख गरेकी छन्।
उक्त आरोपबारे प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएको छ। बढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।
लामिछानेविरुद्ध जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ। नुवाकोट घर भएका ती किशोरी बागबजारको एक कलेजमा अध्ययनरत् र मध्यबानेश्वरको होस्टेलमा बस्दै आएकी छन्।
घटना भदौ ५ गते भएको प्रहरीले जनाएको छ। क्यान स्रोतका अनुसार कप्तान सन्दीप ५ भदौमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग थिएनन्। सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए। तर क्यानले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो।
त्यसको अर्को दिन भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने मैत्रीपूर्ण टी–२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए। टी–२० शृङ्खलापछि उनी क्यारिबीअन लिग खेल्नका लागि जमैका पुगेका छन्।
बलात्कारको आरोप पुष्टि भएमा लामिछानेको जम्जमाउँदो करिअरमा मात्रै कालो बादल लाग्ने छैन, नेपालको राष्ट्रिय टिममा पनि ठूलो क्षति पुग्नेछ।
सम्बन्धित समाचारः
सन्दीप लामिछानेः बलात्कार आरोप, उदयमान लेग स्पीनर र करिअरमा कालो बादल