काठमाडौं। नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ।
संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको प्रतिक्रिया दिँदै बारले जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको हो।
बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध सुरु गरेको छ। जबरालाई सर्वोच्च छिर्न नदिन बारका वकिलहरू गेटमा बसेका छन्।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्रमाथि प्रश्न उठाएका छन्। श्रेष्ठले प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताए।
उनले भने, ‘सभामुखले अर्को प्रतिनिधिसभामा पेश गर्ने भनेको प्रस्तावलाई कर्मचारीले निष्क्रिय तुल्याउन सक्दैनन्। राणालाई संसदका महासचिवले दिएको पत्र गलत छ। त्यस्तो पत्रका आधारमा हामी उनलाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं।’
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि अब आउने प्रतिनिधिसभाले महाअभियोगको काम(कारबाही अघि बढाउने बताए।
महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा आजै अदालतमा हाजिर हुने तयारीमा छन्।
यता, नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बोलाएको छ।