काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन्।
मंगलबार बसेरा होटल पुगेर पौडेलले संसदीय दलको नेतामा महामन्त्री थापालाई समर्थक गरेका हुन्।
पौडेल कांग्रेसको चौधौँ महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका थिए। तर, उनी पराजित हुन पुगेका थिए।
दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन्। अहिले उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका सदस्य छन्।
बुधवार निर्वाचन
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र थापाबीच प्रतिस्पर्धा हुँदैछ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि बुधवार बिहान निर्वाचन हुनेछ।
संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ। हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।
कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन्।
कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ। तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याउँदा फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन्।