काठमाडौँ । सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ । बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरुको बैठकले शुक्रबार पनि बैठक बसेर प्रमुख पदहरुको भागबण्डामा सहमति जुटाउने तय गरेकामा सोही अनुसार छलफल हुन लागेको हो।
यद्यपि हालसम्म बैठकको समय भने तय भइनसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँदैछ । सोहीअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन् । सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् ।
यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो ।
बिहीबारको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव गरेका थिए ।