काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण लामिछाने भोलिमात्र रिहा हुने भएका हुन् ।
रिहाइका आधार
– पीडितको बयान भइसकेको अवस्था भएको हुँदा उनलाई दबाब दिने वा प्रभाव पर्न सक्ने सम्भावना वा आशंका नहुनु,
– थुनाबाहिर हुँदा समाजमा फैलिएका आक्रोश र आवेगबाट उनको ज्यानमाथि खतरा नहुनु,
– थुनामुक्त गर्दा सार्वजनिक शान्ति सुरक्षा, कानुन र व्यवस्थामा पनि खतरा नहुनु,
– घटनाअघि प्रतिवादी गम्भीर वा जघन्य प्रकृतिको अपराधमा संलग्न नहुनु,
– थुनामुक्त गर्दा पीडितले आत्महत्या वा कुनै अप्रिय घटना छनोट गर्ने सम्भावना नहुनु
– मानसिक तनावको अवस्थाबाट गुज्रिरहेको इजलाससमक्ष बहसको क्रममा उल्लेख हुनु
– फौजदारी न्यायशास्त्रको मान्यताअनुसार अभियुक्तलाई थुनाको विकल्प प्रयोग गर्नमा अदालत उदार हुनुपर्ने ।
सन्दीपलाई सर्त
– विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का।
– आफूखुसी काठमाडौं उपत्यका छाड्न पनि नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने,
– पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने,
– पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने,
– आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने।