काठमाडौं। सरकारले भोलि माघ २ गते देशभर शोक बिदा दिएको छ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकप्रति शोक मनाउन भोलि सोमबार शोक बिदा दिएको हो। आज बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
घटनाकाबारे परिवारजनलगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ। यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।
यस्तै, मृतक परिवारको शव बुझ्नको लागि पनि सरकारले आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको छ।
विमान दुर्घटना भएपछि वस्तुस्थिति बुझ्र शोकाकुल परिवारहरूमा समवेदना प्रकट गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछानेलगायतको टोली पोखरा जाने तयारी थियो। प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि हुने भीडभाडले उद्दार प्रभावित हुन सक्ने भएकोले पोखरा जाने कार्यक्रम स्थगित गरिएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
सम्बन्धित समाचारः
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
पोखरामा विमान दुर्घटनाः माछा मार्न लागेका ३ जनाको पनि अवस्था अज्ञात
आकस्मिक मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु
पोखरामा विमान दुर्घटनाः ४० जनाको शव निकालियो
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)