काठमाडौं। आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डलाई जनताको अवस्था परिवर्तन गर्न अपील गरेका छन्।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका आचार्यको बुधबार बिहानै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
उनले आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्था परिवर्तन गरेको, धेरै क्रान्ति गरेको, जनयुद्द लडेकोले अब जनताको अवस्था परिवर्तन गर्न अपील गरेका छन्।
उनले जनताको जनजीविकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दिन अपील गरेका छन्।
उनले प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, ‘यवस्था परिवर्तन धेरै गर्यौ यो देशमा। धेरै क्रान्ति गर्यौ, जनयुद्ध लडेऊ, जनआन्दोलन गर्यौ, जनता मार्यौ। अब जनताको अवस्था परिवर्तन गर। यी र यस्तै दैनिक जनजीविकाका मुद्दा, राज्य संचालनका प्राविधिक विषयमा केन्द्रित रहेर शासन गर सरकार। एउटा साधारण जनताले सहज तरिकाले उद्योग–व्यापार गर्न सकोस्, जागिर खान सकोस्, खेती किसानी गर्न सकोस्, सुखको श्वास फेर्न सकोस्। देश बनाउनलाइ हावा गफले मात्र हुँदैन, हेर्दा सानो झिनोमसिनो देखिने सुक्ष्म कुराहरु तर जनताको जनजीविकामा ठूलो असर गर्ने मुद्दाहरुमा ध्यान दे सरकर, हार्दिक अपिल!’
उनले यस्तै अवस्था रहेमा ‘देश खाली हुने र खाली देशको प्रधानमन्त्री बनेर १७ हजार शहीदलाई शासन गरेर बस्नु’ भनेका छन्।
आगो लगाएर आत्महत्या प्रयास गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा लेखिएको लामो स्टाटसमा प्रचण्डलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘प्रचण्ड तिमिले १७ हजार मार्ने गरि जनयुद्ध गरेऊ। देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्यायौं। संविधान सभामार्फत देशमा नयाँ संविधान जारी गरेऊ तर म जस्ता केही गर्छु भन्ने युवालाइ देशमा केही गर्नै नसक्ने बनायौं। तिमिलाइ थाहा छ? यदी युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरुले सजिलै नेपालीलाइ भिसा दिने भए यो देशमा कोही रहनेछैन। तिम्रो देश खाली हुनेछ। अनि रित्तो देशको प्रधानमन्त्री बन्नु। र ती १७ हजार सहिदलाई शासन गरेर बस्नु।’
सम्बन्धित समाचारः
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
आचार्यको आत्मदाहले राज्यको असफलताको भयानक संकेत गरेको छः बालेन
आचार्यको मृत्युपछि गृहमन्त्री लामिछानेले मागे माफी, लेखे यस्तो भावुक स्टाटस