काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने स्पष्ट पारेका छन्।
बिहीबार विराटनगर विमालस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको स्मरण गरे। उनले त्यसबारे भने, ‘गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको थियो र अहिले पनि त्यो कायम छ।’
उनले गृह मन्त्रालयका कारण सत्ता गठबन्धन संकटमा नपर्ने दाबी गरे। पछिल्लो समय गृह मन्त्रालयलाई लिएर गठबन्धन संकटमा परेको चर्चा भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैंसँग राख्ने प्रयासमा छन् भने रास्वपका सभापति रवि लामिछाने फेरि गृहमन्त्री बन्ने चाहना गरिरहेका छन्। लामिछानेलाई ओलीले पनि साथ दिइरहेका थिए।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।
आइतबार नयाँ नागरिकता लिएपछि लामिछाने पार्टीको सभापति बनिसकेका छन् भने गृह मन्त्रालयका लागि दौडधुप गरिरहेका छन्।
ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताए। उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको र कांग्रेसलाई गृह राज्यमन्त्री दिँदा पनि सरकारमा आउन तयार रहेको आरोप लगाए।