पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो पाँचौँ स्थापना दिवस मनाएको छ। गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौँ वर्ष पूरा भई छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा बिहीवार स्थापना दिवस मनाएको हो।
उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन गरे।
विमोचनपछि सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले आमनागरिक र राजनीतिक व्यक्तित्वको समन्वयमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे। उनले यसअघिका सरकारले आधारशिला तयार गरिसकेको बताउँदै वर्तमान सरकारले कार्यान्वयनको पक्षमा लाग्नुपर्ने बताए।
यस्तै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेतृत्व पङ्क्तिमा रहेका व्यक्तिले चुनौतीमा अवसर देख्नुपर्ने तर्क राखे। उनले चुनौतीलाई समस्या देख्ने व्यक्ति सफल हुन नसक्ने भन्दै चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए।
गुरुङले आफू नेतृत्वको सरकारले सङ्घीय सरकारसँग स्वायत्तताका लागि सङ्घर्ष गरेको स्मरणसमेत गरेका थिए। निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख कृष्णप्रसाद धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै विभिन्न तीन विधामा १० जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ। शहीदपार्कस्थित शहीद स्तम्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता सुन्दास, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापा, ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङ, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रेसम जुग्जाली लगायतले माल्यार्पण गरी प्रभातफेरी कार्यक्रम शुभारम्भ गरिएको थियो। र्याली पोखरा सभागृहमा आएर मूल समारोहमा परिणत भएको थियो।
प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री गाहा थापाले स्वागत मन्तव्य व्यक्त गरे।