काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४१.१ ओभरमा ३५ बल बाँकी रहँदै ८ विकेट गुमाएर पुरा गर्यो।
नेपालको जीतमा कप्तान रोहित पौडेलले नटआउट ९५ र करण केसीले नटआउट ३१ रन बनाए। एक समय ३१.५ ओभरमा १३८–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई केसी र पौडेलले नवौ विकेटका लागि ७५ रनको साझेदारी गर्दै रोमान्चक जित दिलाए।
त्यस्तै, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आशिफ शेखले १२ रन बनाए।
स्कटल्यान्डका मार्क वाटले ३, क्रिस ग्रेभ्सले २, ब्रेन्डन म्याकुमेलन, शफ्यान शरिफ र माइकल लिस्कले एक एक विकेट लिए।
यसअघि किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो।
उसका लागि जर्ज मुन्शेले ६०, म्याथ्यु क्रसले ४२, ब्रेण्डन म्याकमुलेनले ३१, काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले २२–२२ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३, कुशल मल्ल र ललित राजवंशीले १–१ विकेट लिए।
नयाँ कीर्तिमान
यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।
नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो।