काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ।
क्यानले बिहीबार लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको हो। घोषणा गरिएको टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने परेका छैनन्।
बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई विदेश जान नपाउने अदालतले शर्त राखेको छ। त्यसकारण उनी टिममा नपरेका हुन्। मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।
नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक परेका छन्।
फागुन १३ गते युएई जाने नेपाली टोलीले फागुन १५ मा पपुवा न्युगिनीसँग पहिलो खेल खेल्नेछ। नेपालले फागुन १८ घरेलु टोली युएई, फागुन १९ मा पपुवा न्युगिनी र फागुन २२ मा यूएईसँग अन्तिम खेल खेल्नेछ।
नेपालको टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी।