काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ ।
बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।
कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।
अमेरिकन कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए । राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभागभन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको हो ।
यसरी पटक–पटक महानिर्देशक फेर्दा राजस्व अनुसन्धान विभागको नेतृत्व भने अस्थिर बनेको छ । ढुंगानाभन्दा अघिका महानिर्देशक रहेका नारायण सापकोटाले विभागका तीन महिना मात्रै विभागमा काम गर्न पाएका थिए ।
राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो । विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन ।