काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ अत्याधुनिक भवनको निर्माण कार्य लगभग पूरा भएको छ।
प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीका अनुसार, भवन दुई महिनाभित्र प्रहरीलाई हस्तान्तरण गरिने छ।
नयाँ भवनमा विभिन्न प्रकारका अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, तथा जघन्य अपराध गर्नेहरूलाई छुट्टाछुट्टै हिरासतमा राख्न मिल्ने व्यवस्था गरिएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले भने, ‘अब फर्निसिङको काम बाँकी छ, जसलाई दुई महिनाभित्र सकिनेछ। हिरासत कक्षमा ७ सयभन्दा बढी व्यक्तिहरूलाई राख्न मिल्नेछ।’
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित भएर प्रहरीले टेकुमा पाल टाँगेर सेवा दिइरहेको थियो। लामो समयपछि भवन निर्माणको लागि प्रहरीले भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो।
लगभग एक अर्ब २० करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।
उपत्यका अपराध कार्यालयको नयाँ भवन भने टेकुमा नै बनिरहेको छ।