काठमाडौं – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे। उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे।
‘प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन। समस्या देखेरै समाधान गर्न यो सरकारमा आउनु भएको हो,’ उनले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ।’
उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए।
छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए।
उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा वाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनले बताए।
विगत तीन वर्षदेखि उद्योग ३०/४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए।
उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको भन्दै चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए।
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ।