काठमाडौंमा बस्नुहुन्छ? टुटल, पठाओ, ईन्ड्राइभको प्रयोग त पक्कै गर्नुभएको छ होला। गर्नुभएको छैन भने पनि यसको बारेमा थाहा त पक्कै पनि छ।
काठमाडौं उपत्यकामात्र होइन उपत्यका बाहिर पनि यसको प्रयोग हुन थालिसकेको छ। राईड शेयरिङको उद्देश्यले शुरु भएका यी कम्पनीहरुले आफ्नो उद्देश्यअनुरुप सेवा त दिइरहेका छन नै साथमा मुलुकमा विद्यमान बेराजगारीको समस्या कम गर्न पनि मुख्य भुमिका निर्वाह गरिरहेका छन्।
मुख्यतया, टुटल, पठाओ, र ईन्ड्राइभले काठमाडौँ उपत्यकालगायतका सहरमा यातायात सेवा प्रदान गर्ने कार्यलाई सहज मात्र बनाएका छैनन्, हजारौं युवाहरुलाई रोजगारीको अवसर समेत प्रदान गरेका छन्।
टुटलले सन् २०१६ मा नेपालको पहिलो राइड–शेयरिङ्ग सेवा सुरु गरेको थियो। हालसम्म, टुटलमा करिब अनुमानित ६० हजार चालकहरु दर्ता भएका छन्।
यस्तै, बंगलादेशबाट सुरु भएको पठाओले पनि नेपालमा राम्रो प्रभाव पारेको छ। यसले मोटरसाइकल र कार दुबै मार्फत सेवा दिन्छ। पठाओ नेपालमा सबभन्दा ठूलो राइड–शेयरिङ्ग प्लेटफर्मको रुपमा चिनिन्छ। यसमा १ लाख ९० हजार हाराहारी मोटरसाईकल चालक र १० हजार हाराहारी ट्याक्सी चालहरु आवद्द रहेका छन्।
पठाओजस्तै ईन्ड्राईभ पनि एक अन्तर्राष्ट्रिय राइड शेयरीङ सेवादायक कम्पनी हो। पछिल्लो समय नेपालमा इन्ड्राइभका प्रयोगकताहरु बढीरहेका छन्। मुुल्य निर्धारण आफैँले गर्न मिल्ने हुँदा पनि यसको लोकप्रियता बढ्दो छ।
यी सेवाहरुले विद्यार्थी, बेरोजगार र अन्य विभिन्न पेशाका व्यक्तिहरुलाई वैकल्पिक आयको स्रोत प्रदान गर्दै आएको छ। एक अध्ययन अनुसार, राइड(शेयरिङ्ग सेवाहरुले २ लाख भन्दा बढी रोजगारी सिर्जना गरेको अनुमान छ।
यी राईड शेयरिङ चालकहरुले दैनिक १५ सय देखि ३५ सय अर्थात मासिक ४० हजार ८० हजार रुपैयासम्म आम्दनी गर्ने गरेको चालकहरुले नै बताउने गरेका छन्। यसले यूवाहरुलाई विदेश पलायन हुनुपर्ने बाध्यताबाट समेत मुक्त गराएको छ।
राइड–शेयरिङ्ग सेवाहरुले विशेषगरी कोभिड–१९ महामारीको समयमा उल्लेखनीय वृद्धि गरेको थियो। सार्वजनिक यातायात प्रयोग गर्न असहज भएपछि मानिसहरुले राइड–शेयरिङ्ग सेवा अपनाउन थालेका थिए। यसले गर्दा, नयाँ चालकहरु दर्ता हुने दर पनि दोब्बर भएको थियो।
तर, यी सेवाहरु कानुनी जटिलतामा पनि फसेका छन्। हालसम्म, नेपालको संघीय कानूनले निजी सवारी साधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न अनुमति दिएको छैन।
यद्यपि, बागमती प्रदेशले निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई आवश्यक कानुनी मापदण्ड पूरा गरेपछि यात्रु बोक्न अनुमति दिने प्रावधान समावेश गरेको छ। यस्तो कानूनी अवरोधका बावजुद, राइडशेयरिङ्ग सेवाहरुले नेपाली युवाहरुलाई स्वरोजगारीका अवसरहरु दिनमा महत्वपूर्ण भूमिका खेलेका छन्।