गोरखा, असार ११ - आत्महत्या गरेको भनि दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव प्रहरीले उत्खनन गरेको छ।
बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ बर्षीया रनमाया गुरुङको शव गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरिएको हो। प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार, रनमायाको मृत्यु साउन ४ गते झुण्डिएको अवस्थामा भएको भनिएको थियो र भोलिपल्टै जातीय परम्परा अनुसार जमिनमा गाडिएको थियो। तर, घटनामा शंका उत्पन्न भएपछि मृतक महिलाका दाजु सुकपाल गुरुङले छानबिनको माग गर्दै प्रहरीमा निवेदन दिएका थिए।
साउन १० गते प्राप्त निवेदनको आधारमा इलाका प्रहरी कार्यालय जौवारी, जिल्ला प्रहरी कार्यालय र गोरखा अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोली घटनास्थलमा पुगेको थियो। टोलीले शव उत्खनन गरी काठमाडौंको महाराजगंजस्थित फरेन्सिक मेडिसिन विभागमा पोष्टमार्टमका लागि पठाएको छ।
शव गाड्नुअघि खिचिएको तस्वीरमा महिलाको शरीरमा चोटपटकको दाग देखिएकोले माइती पक्षले शंका गरेका थिए। डीएसपी श्रेष्ठले, "शव गाड्ने बेला माइती पक्ष टाढा रहेको र दाहसंस्कारको फोटो खिचिएको थियो। फोटोमा शरीरमा चोटपटक देखेपछि ती महिलाका दाजुले छानबिनको निवेदन दिएका हुन्," भने।
पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको थप तथ्य खुल्ने र अनुसन्धान जारी रहने डीएसपी श्रेष्ठले बताए।