स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ– काठमाडौंको चन्द्रागिरी हिल्स। दैनिक हजारौँ संख्यामा पर्यटक चन्द्रागिरि हिल्स पुग्छन्। त्यहाँबाट देखिने मनमोहक दृश्य अनि प्राकृतिक सुन्दरताले प्रायः सबैको मन खिचेको छ। यद्यपि, स्थापनाकालदेखि नै चन्द्रागिरि हिल्स कुनै न कुनै विवादमा पर्दै आएको छ। केही पर्यटक र स्थानीयले उठाएको सबालको जवाफ खोज्न चन्द्रागिरि हिल्सका प्रमुख जनसम्पर्क प्रतिनिधि राजु पौडेलसँग नेपाली पब्लिकका लागि सुरज खनालले गरेको कुरकानीः
चन्द्रागिरिमा अहिले पर्यटक आवागमन कस्तो छ?
प्रतिदिन लगभग २ हजार ५ सयदेखि ३ हजारको हाराहारीमा पर्यटक आउने गरेका छन्। तर, कहिलेकाही एकैदिन १० हजार पर्यटक आउने गरेका छन्। बिदाका दिन तथा केही अवसरहरूमा मानिसको संख्या ह्वात्तै बढ्ने गरेको छ।
त्यसैले ठ्याक्कै यति भन्न सकिने अवस्था त छैन तर मोटामोटी हेर्ने हो भने २ हजार ५ सयदेखि ३ हजारको संख्यामा दैनिक पर्यटक भित्रिने गरेका छन्। कोही माथि जाँदा मात्रै केबुलकार चढ्ने र कोही तल आउँदा मात्रै केबुलकार चढ्ने हुनाले ठ्याक्कै डाटा थाहा नभए पनि लगभग ७ प्रतिशत पर्यटकले केबुलकार प्रयोग गर्छन्।
चिनजान र भनसुनका आधारमा लाइन नै नबसी केबलकार चढ्न पाइन्छ भन्ने सुनिन्छ नि?
नियमन निकायबाट आएका कर्मचारी र अवलोकनकर्तालाई हामीले लाइनमा नराखी माथि जान दिने गरेको यथार्थ हो। त्यस्तै त्यहीँ दिनहुँ काम गर्ने कर्मचारीले पनि लाइन बस्ने भन्ने हुँदैन। फास्ट ट्रयाकबाट माथि जाने भनेको नियमन निकायबाट आउने प्रतिनिधि र सोही क्षेत्रमा कार्य गर्ने कर्मचारी मात्रै हुन्। अन्य सर्वसाधारणको हकमा सोर्स लगाउने भन्ने केही पनि हुँदैन। दिउँसो १ बजे आसपासको समयमा एकैपटक धेरै पर्यटक पुग्ने हुनाले व्यवस्थापनमा केही समस्या हुने गरेको छ। त्यसैकारण यस्ता गुनासा आएको हुनसक्छ।
एकातिर चन्द्रागिरि हिल्सभित्र खाना लैजान नपाउने नियम छ भने अर्कातिर भित्र होटलमा खानेकुरा निकै महँगो भयो भन्ने पनि गुनासो छ नि?
–यी सबै एकदमै असत्य कुरा हुन्। पकाएर खाने बाहेकका सबै खानेकुरा बाहिरबाट लान पाइन्छ। पानी, दूध, फलफूल तथा फास्टफूडहरू लैजान पाउनुहुन्छ। पकाएका खानेकुरामा प्रतिबन्ध लगाइएको छ। किनभने केबलकारमा ८ जना यात्रु हुन्छन्, त्यहाँ कसैको आफूसँग भएको खानेकुराको वासना अरू कसैलाई मन नपरेर समस्या हुनसक्छ।
त्यसो हुनाले सबैका लागि समान अधिकार दिने हिसाबले हामीले पकाएका खानेकुरामा प्रतिबन्ध लगाएका हौँ। माथि मन्दिर पनि छ। मन्दिरको छेउमा बसेर मासुजन्य खानेकुरा खाइयो भने निश्चय नै राम्रो मानिँदैन। त्यसका कारण पनि हामीले पकाएर खाइने खानेकुरामाथि प्रतिबन्ध लगाएका हौँ। महँगोको सबालमा त काठमाडौं उपत्यकाभित्र रहेको राम्रै रेस्टुरेन्टमा जुन किसिमको दर छ, हामीकहाँ त्योभन्दा पनि सस्तो छ।
चन्द्रागिरि हिल्सका कारण वातावरणमा नकारात्मक असर परिरहेको छ नि?
–केही चिज निर्माण हुँदा पक्कै पनि केही चिजको विनाश भएको हुनसक्छ। तर, हिल्स निर्माणका क्रममा जुन खालको क्षति भएको थियो, त्यसको पुनर्स्थापना भइसकेको अवस्था छ। वातावरणीय दृष्टिले हेर्दा चन्द्रागिरिको वातावरण विनाश भयो भन्ने विषय एकदम तर्कसङ्गत छ।
यो विषयमा प्रश्नकर्ताहरू जति सचेत हुनुहुन्छ, हामी पनि त्यत्तिकै सचेत छौँँ। वातावरण सन्तुलित राख्नका लागि वायोमेट्रिकल इञ्जिनीयरिङ गरेर त्यहाँको हरियालीलाई थप व्यवस्थापन गर्न चन्द्रगिरि हिल्स म्यानेजमेन्ट उच्च सर्तकताका साथ लागिरहेको छ।