१.मुख्यमन्त्री भट्टद्वारा हेल्थ डेस्कको अनुगमन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन्। मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था बुझेका थिए।
२. कोरोना महामारीः बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु
पोल्यान्डमा एक महिलाको बच्चालाई जन्म दिएलगत्तै कोरोना भाइरसको कारण मृत्यु भएको छ। मृत्यु भएकी २७ वर्षिया महिलाको नाम भने खुलाइएको छैन।
३.नेपाल स्काउटद्वारा हात धुने अभियान सञ्चालन
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को रोकधाम तथा नियन्त्रणको लागि भन्दै नेपाल स्काउटले हात धुने तथा स्यानिटाइजर प्रयोगको अभियान चलाएको छ। काठमाडौँको ५० वटा क्षेत्रमा शनिबार देखि नेपाल स्काउटले उक्त अभियान चलाएको हो।
४. गण्डकी प्रदेशमा १ सय ११ आइसोलेसन बेड तयार
कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ।
५. डलरको भाउ अहिले सम्मकै महँगो
अमेरिकी डलरको विनिमयदर हालसम्मकै महँगो भएको छ। शुक्रबार डलरको भाउ १ रुपैयाँ १७ पैसा महँगिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार डलरको विनिमय (बिक्री) दर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ। निजी बैंकहरूले भने यो भन्दा केही सस्तोमा डलर बेच्ने भने पनि १ सय २० रुपैयाँभन्दा महँगो नै छ।
६.कोरोना संक्रमणको आशंकामा तीनजना अस्पताल भर्ना
कैलालीमा काेराेनाकाे आशंकामा तीन जना अस्पतालमा भर्ना भएका छन्। भारतबाट आएका उनीहरूलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकाे हाे।
७.कम्तीमा एक सातासम्म भारत नजानुसः सुदूरपश्चिम प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो।
८. कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउः मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन्।