१.कोरोना त्रास : वैशाख ३ सम्म हवाई उडान रोकिने
सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ। कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो।
२.लकडाउन अझै लम्बियो
कोरोनाभाइरसको प्रकोपका कारण सरकारले गरेको ‘लकडाउन’को अवधी थप भएको छ। कोरोना रोकथाम तथा उच्च्स्तरियक समन्वय समितीले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय लिएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितीले ७ देखी बढीमा १४ दिनको लागि लकडाउन थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ। यसअघि सरकारले चैत्र ११ गतेदेखी लागु हुनेगरी १ साताको लागि लकडाउन गरेको थियो।
३.कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ। सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो। भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए।
४. काेराेनाकाे आशंकामा अस्पाताल भर्ना भएका बिरामीको मृत्यु
काेराेना संक्रमणकाे आशंकामा बुटवलस्थित कोरोना विशेष अस्पताल भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज (आइतबार) मृत्यु भएको छ।उनको स्वाब कोरोना सङ्क्रमण परीक्षणका लागि आइतबार केन्द्रीय प्रयोगशाला काठमाडाैं पठाइएको थियाे । स्वास परिक्षणकाे रिपोर्ट नआएसम्म मृत्युको कारण पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए।
५.घर फर्किए ९ सय १३ विदेशी पर्यटक
सरकारले विभिन्न मुलुकका ९ सय १३ विदेशी नागरिकको उद्धार गरेको छ। लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ। धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो। लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो।
६.कोरोना बारे जानकारी दिन सरकारको छुट्टै वेबसाइट सञ्चालनमा
सरकारले कोरोना भाइरस अर्थात कोभिड-१९ को सत्य तथ्य जानकारी दिन तथा रोकथाम र नियन्त्रण कार्यलाई व्यवस्थित गर्न छुट्टैआधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। सरकारले उपलब्ध गराएको यो वेबसाइटमा कोरोना भाइरस सम्बन्धि नेपाल लगायत विश्वभरिको पछिल्लो अवस्था तथा तथ्यांक पाउन सकिन्छ।
७. चिनबाट नेपाल आईपुग्यो स्वास्थ्य सामग्री
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण नेपालमा पनि भेटिएपछि नेपाल सरकारले चीनसँग मगाएको कोरोना संक्रमण पहिचान, नियन्त्रण तथा उपचारका लागि आवश्यक साम्रागी आइतबार नेपाल आइपुगेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अनुसार ज्याक मा फाउन्डेसन, र चीनको सिचुवान प्रान्तीय सरकारसँग नेपालले खरिद गरेको सामाग्री आइतबार बिहान ५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
८.अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने
कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ। अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन। नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ।
९.सुर्खेतकाे जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड
लकडाउनका कारण जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा सवारी पास बनाउन आउनेकाे भीड लाग्न थालेको छ। सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिन एक साता लकडाउन गरेपछि प्रशासनमा पास लिनेको भीड लागेको हो। लकडाउन, कफ्र्यू, निषेधाज्ञालगायतका बेला अति जरुरी काम विशेषले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई प्रशासनले सवारी पास उपलब्ध गराउने गर्छ।