पीसीआर बिधिबाट हालसम्म प्रयोगशालामा कुल ५ हजार १ सय ८४ वटा कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ७ सय ९५ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। संक्रमण देखिएका तीनै जना पुरुष रहेको र उनीहरुको उमेर क्रमश: ३७, ४४ र ५५ रहेको उनले बताए। परीक्षण गरिएका मध्ये तीन जना भारतीय नागरिक सहित हालसम्म १२ जनामा संक्रमण देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँवर्षको दिन राष्ट्रिय गान गाउन र बजाउन आग्रह गरेका छन्। आईतबार साँझ आफ्नो ट्वीटरमार्फत उनले यस्तो आग्रह गरेका हुन्। ग्लोबल कम्प्याक्ट नेपाल नामक संस्थाले जारी गरेको सन्देशमा समर्थन जनाउँदै उनले लेखेका छन् ‘‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।’’ काेराेनाभाइरस नियन्त्रणाका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे मनाेबल बढाउनका लागि यस्ताे गर्न आग्रह गरिएको हो।
छोटो भिडियो क्रियटिङ एण्ड सेयरिङ एप टिकटकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध क्रियाशिल रहेका ब्यक्ति तथा संगठनहरुका लागिअर्बौं रुपैयाँ सहयोग गरेकाे छ। कम्पनीले कुल ३ सय ७५ मिलियन डलर अर्थात ४५ अर्व ५० कराेड रूपैयाँ हाराहारीकाे सहयोग उपलब्ध गराएको हो। जसमा २ सय ५० मिलियन डलर आर्थिक सहयोग, १ सय मिलियन डलर कोरोनाविरुद्ध क्रियाशिल विभिन्न संस्था तथा संगठनहरुका लागि एड क्रेडिट र २५ मिलियन डलर सार्वजनिक स्वास्थ्य सामग्रीको प्रचारका लागि रहेको छ।
स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको पछिल्लो निर्णयमा गलत नियत रहेको प्रष्ट भएको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले छानबिन गर्न माग गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले विज्ञप्ती जारी गर्दै राजनीतिक नेतृत्वबाटै आपतकालीन अवस्थामा कमिसनखोरहरुसँग साँठगाँठ गरि भ्रष्टाचार गरिएको भन्दै छानबिन गरी दोषिउपर कारबाही गर्न माग गरेको हो। निकै महंगोमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चर्को विरोध भएपछि सरकारले ओम्नी समूहसँग खरिद सम्झौता रद्द गरेको थियो। त्यसपछि मन्त्रिपरिषदमा छलफल नै नगरी जीटुजीमार्फत खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। उक्त निर्णय पनि विवादमा रहेको कारणले गर्दा छानविन हुनुपर्ने टीआईको माग छ।
कोरोना संक्रमितको उपचारमा खटिएका विश्वभरका २२ हजार ७३ स्वास्थ्यकर्मी समेत संक्रमित भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ। डब्लुएचओले दैनिक सार्वजनिक गर्दै आएको रिपोर्ट अनुसार अप्रिल ८ सम्म ५२ देशका ती स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ को संक्रमण देखिएको बताएकाे छ। स्वास्थ्यकर्मीलाई हुने संक्रमणका बारेमा यकिन जानकारी नहुने भएकाले आँकडा योभन्दा बढ्न सक्ने डब्लुएचओले जनाएको छ।
निजि क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो तिनुपर्ने कर चुक्ता गरेको छ। ठूला करदाता कार्यालयकाअनुसार शेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर एनसेल प्रालिले आइतबार बुझाएको हो। एनसेलले पहिलो किस्तामा ४ अर्ब ५० करोड तिरेको थियो भने दुई हप्ता अगाडि मात्रै दोस्रो किस्तामा ४ अर्ब ६० करोड बुझाएको थियो।
कोरोनाभाइरस (काेभिड १९) को संक्रमणबाट विदेशमा रहेका १४ जना नेपालीहरुको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा बसोबास गर्दै आएका १४ नेपालीको मृत्यु भएको हो। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जना नेपालीको कोरोना भाइरसको कारण मृत्यु भएको हो।
मकवानपुरमा शनिबार राति कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ईन्द्रसरोवर गाउँपालिका–४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङ रहेका छन्। लेनदेनको विषयमा प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूहले सोही ठाँउ बस्ने ४० वर्षीय जितबहादुर पाख्रीनमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका पाख्रीनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लकडाउनको समयमा अटेरी गरेर चलाइएका १ हजार ४ सय ४३ वटा सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानका कार्यालय तथा चौकीमा ती सवारीका साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।नियन्त्रणमा लिइएका मध्ये सबैभन्दा धेरै १ हजार १ सय ७२ वटा मोटरसाइकल रहेका छन्। त्यस्तै ९३ वटा स्कुटर, ६३ वटा ट्रक, ४५ वटा जिपकार र ३९ वटा अटो रिक्साहरु रहेकाे बताएकाे छ।
वीरगञ्जमा बस्दै आएका ३ जना भारतीय नागरीकमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। उनीहरु ३ दिनअघि मात्र भारतबाट नेपाल प्रवेश गरेका थिए। कोरोनाको लक्षण देखिएपछि उनीहरुको स्वाब परिक्षणको लागि हेटौडाको प्रयोगशालामा पठाइएको थियो। परिक्षणमा रिपोर्ट पोजिटिभ आएपछि त्यसलाई पुनः परिक्षणका लागि काठमाडौं पठाइएको थियो। काठमाडौंबाट पनि रिपोर्ट पोजिटिभ नै देखिएको छ। संक्रमितहरु २ जना उत्तरप्रदेश र एकजना दिल्लीका रहेकेा श्रोतले जानकारी दिएको छ। अहिले उनीहरुको वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आईसोलेसनमा राखेर उपचार भइरहेको छ।