पी सी आर बिधिबाट प्रयोगशालामा हालसम्म ६ हजार २ सय ९९ जनाको कोरोनाको परिक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए। बिगत २४ घन्टामा ५ सय ८४ जनाको नयाँ परिक्षण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र ४ हजार ८ सय १९ जनाको परिक्षण भएको छ।बिगत २४ घन्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ३ सय ८७ जनाको परिक्षण भएको छ त्यसै गरि जनस्वास्थ्य प्रयोगशाला बाहिर हाल सम्म १ हजार ४ सय ८० को परिक्षण भएको छ। प्रयोगशाला बाहिर बिगत २४ घन्टामा १ सय ९७ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले दुईसाता लकडाउन लम्ब्याएकाे छ। आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्मका लागि लकडाउनकाे अवधि थप गर्ने निर्णय गरेकाे हाे। मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकाले दुईसाता लकडाउन लम्ब्याइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए। त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।
यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ। सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ। लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो। उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन्। गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो।
सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग प्रस्ताव अनुरोध गरेको छ ।सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणको आग्रह मन्त्री ज्ञवालीले गरे।
भारतमा लागु भएको लकडाउन आगामी मे ३ तारिखसम्मका लागि लम्बिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको अवधि लम्बिएको घोषणा गरेका हुन्। सम्बोधनका क्रममा मोदीले लकडाउन कडाइका साथ लागु गर्ने समेत बताए। प्रधानमन्त्री मोदीले आगामी एक साता अप्रिल २० सम्म काेराेनाविरुद्धकाे लडाईमा कठाेरता अपनाइने भन्दै माेदीले अनुसाशनका साथ लकडाउनकाे पालना गर्न पनि आग्रह गरे। प्रधानमन्त्री माेदीका अनुसार, अप्रिल २० सम्म हरेक जिल्ला र राज्यहरुमा चेकजाँच बढाइने छ, र त्यसपछि केही जरुरी गितिविधमा लचकता अपनाइने छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ ब्राजिलियन नागरिक लिएर नयाँ दिल्ली उडेको छ। न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका ब्राजिलियाली नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँ दिल्ली गएको जहाज आज साँझ ५ः०० बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ। जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ। छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ। विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित गर्ने प्रतिनिधिसभाका सदस्यहरु यतिखेर जनताकै बीचमा छन्। विषम अवस्थामा संसद् र संसदीय समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने आवाज उठिरहेको छ। विपद्मा त जनप्रतिनिधि अझै बढी सक्रिय हुनुपर्ने माग पनि उत्तिकै छ।
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१, चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्कनेक्रममा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो। यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ। पाँच हजार रुपैयाँमा पर्ने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि उनी काठमाडौंको नक्शालबाट पक्राउ परेका थिए।
आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छीन्। खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान् छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन्। मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए। राईको शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ मेनुकाले श्रीमान्को टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।