नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो।
लकडाउनका बेला खाद्यान्न संकट भएको भन्दै मानिसहरु पैदलै उपत्यका बाहिर जान थालेपछि सरकार र राजनीतिक दलहरुको त्यसतर्फ सक्रियता बढेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला आवत जावत ठप्प पार्न निर्देशन दिएका छन् ।
कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले जानकारी दिए।पीसीआर बिधिबाट प्रयोगशालामा हालसम्म ७ हजार ६ सय ८८ जनाको कोरोनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट हालसम्म १६ हजार ५ सय ६५ जनाको कोरोनाको परिक्षण भएको छ। यी दुबै मिलाएर हालसम्म २४ हजार २ सय ५३ जनाको परिक्षण भएको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
नेपाली कांग्रेसले लकडाउनपछि पैदल यात्रामा नै गाउँ जान बाध्य भएका मजदुरहरूलाई सुरक्षित ढंगले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ। आज शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पैदल हिड्ने मजदुरहरूलाइ पर्याप्त राहत पुर्याउनुका साथसाथै अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका हुन्। अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै कांग्रेसले पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।
महामारीको चपेटामा परेका २ सय १० वटा देशमध्ये नेपाल पनि एक हो। अन्य देशहरुको तुलनामा यहाँ निकै कम संक्रमण देखिएको छ। यसो भन्दैमा ढुक्क भएर बस्ने अवस्था भने पक्कै छैन। त्यसैले नेपाल सरकारले ‘कन्ट्री लकडाउन’ गरेको छ।लकडाउनको आज २५ औँ दिन। अझै कति दिन लम्बिन्छ भन्ने अनुमान समेत लगाउन गाह्रो छ। महामारीको रोकथाम र नियन्त्रणका लागि लागु गरिएको लकडाउनबाट दैनीक जीवन मात्र होइन देशको अर्थतन्त्र नै प्रभावित बनेको छ।
कोरोनाभाइरस परिक्षण र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर चिनबाट उडेको दुई वटा जहाज काठमाडौँ आईपुगेको छ। ग्वाङ्झाओबाट उडेको वाईड बडी जहाज एउटा बिहान ७ बजे र अर्को ७ः१५ बजे अवतरण गरेको हो। दुई जहाजमध्ये एउटा जहाज सहजै त्रिभुवन विमानस्थलमा अवतरण गरेको भएपनि कम भिजिविलिटीका कारण अर्को जहाजलाई अवतरणमा समस्या भएको थियो। यि दुवै जहाजमा निजी क्षेत्रले स्वास्थ्य सामग्री मगाएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। लकडाउनको अवधिमा इन्टर्नेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ।
चीनकाे वुहान शहरमा भाइरसकाे संक्रमण फेरि उदाएकाे छ । कोरोना भाइरसको उद्गमस्थल वुहान शहरमा कोरोना संक्रमणका कारण थप १ हजार २ सय ९० जनाको मृत्यु भएको छ । यसअघि वुहानमा काेराेना नियन्त्रण भइसकेकाे दावी गर्दै लकडाउन फुकुवा समेत गरिएकाे थियाे । वुहानले शुक्रबार काेराेना भाइरसका कारण मृत्यु भएकाहरुकाे तथ्याङ्क सार्वजनिक गरेको हाे । यसअघि वुहानमा भाइरसको संक्रमणका कारण २ हजार ५ सय ७९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । यो सँगै वुहानमा मृतकको संख्या ५० प्रतिशतले बृद्धि भइ ३ हजार ८ सय ६९ पुगेको वल्र्डओमिटरले उल्लेख गरेको छ ।
बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले जानकारी दिए। उनले आशा गरे अनुसार कोरोना भाइरसको संक्रमण दरमा कमी नआएको कारण लकडाउन थप गर्नुपरेको बताए ।प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गरेका हुन्।
अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ। उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो। भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताएका छन्। खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो।
संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २ सय २८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। टीटानले पाँच बालकालिकासहित २ सय २८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ। यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो। उसको यो तेस्रो चार्टर्ड उडान हो।