एजेन्सी- विश्व बजारमा निकै छोटो समय अवधिमा फस्टाउन सफल चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो चर्चित एक्स सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेकाे छ । कम्पनीले 'रियलमी एक्स फिफ्टी प्रो प्लेयर एडिशन' (Realme X50 Pro Player Edition) नाम दिइएकाे नयाँ स्मार्टफाेन चीनमा अनलाइन इभेन्टमार्फत लन्च गरेकाे हाे ।
रियलमी एक्स ५० प्रो प्लेयर एडिशन गत फेब्रवरी महिनामा लन्च भएकाे रियलमी एक्स ५० प्रो (Realme X50 Pro) फ्ल्यागशिपकाे रीब्राण्डेड संस्करण पनि भनिएकाे छ । यसकाे डिजाइन धेरै हदसम्म रियलमी एक्स ५० प्रोसँगै मिल्दाेजुल्दाे रहेकाे छ ।
रियलमी एक्स ५० प्रोमा जस्तै रियलमी एक्स ५० प्रो प्लेयर एडिशनमा पनि क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर चीपसेट दिइएकाे छ । फाइभ जी (5G) सपोर्टिभ याे स्मार्टफोन एन्ड्रोइड १० अपरेटिङ सिस्टममा आधारित रहकाे छ ।
याे स्मार्टफोनमा २४०० x १०८० पिक्सेल रिजोलुशन रहेको ६.४४ इन्चको फुल एचडिप्लस सुपर प्लस एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ भने याे स्मार्टफोन इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सरकाे साथमा कर्निंग गोरिल्ला ग्लास ५ प्रोटेक्शनसहित आएको छ । फोनको रिफ्रेश रेट ९० हर्ज (90Hz) रहेकाे छ ।
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि रियलमी एक्स ५० प्रो प्लेयर एडिशनमा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये ४८ मेगापिक्सेलको Sony IMX586 सेन्सर सहितकाे प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल सेकेन्डरी क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ लेन्स समावेश रहेकाे छ ।
यस बाहेक सेल्फीका लागि यसकाे फ्रन्टमा ड्यूअल क्यामरा सेटअप रहेकाे छ । ड्यूअल सेल्फी क्यामरा मध्ये १६ मेगापिक्सेलको प्राइमरी क्यामरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।
१२८ जीबी इन्टर्नल स्टोरेज रहेको रियलमी एक्स ५० प्रो प्लेयर एडिशन ६ जीबी, ८ जीबी र १२ जीबी र्याम गरि तीन भेरिएन्टमा उपलब्ध रहेको छ । याे स्मार्टफोनमा ४२०० एमएएच (4200 mAh) काे ब्याट्री राखिएको छ । ६५ वाट (65W) काे सुपर फास्ट चार्जिङ सिस्टमकाे साथ आएकाे याे स्मार्टफोन ३५ मिनेटमै ० देखि १०० प्रतिशतसम्म चार्ज हुन्छ भने तीन मिनेट चार्ज गरेमा १ घण्टा फोन गर्न सकिने कम्पनीकाे दाबी छ ।
याे बाहेक रियलमी एक्स ५० प्रो प्लेयर एडिशनमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट, फाइभ जी एसए / एनएसए (SA and NSA), डुअल फाेरजी एलटीई (4G LTE), ब्लूटूथ भर्सन ५.१, वाई-फाई ६, जीपिएस/ ए-जीपिएस (GPS/ A-GPS) जस्ता फिचरहरू समावेश गरिएकाे छ । यसका साथै यसमा टेकटाइल इन्जिन (Tactile Engine) र फाेरडी गेम भाइब्रेशन सेन्स २.० (4D game vibration sense 2.0) तथा सेपरेट गेमिङ मोडको समेत सुविधा रहेको छ।
यस स्मार्टफोनकाे राइट साइडमा भ्याेल्यूम रकर (volume rocker- भ्याेल्यूम बढाउने तथा घटाउने) बटन समावेश गरिएकाे छ । यस स्मार्टफोनकाे डाउन साइडमा एक्सटर्नल स्पीकर, टाइप-सी पोर्ट र एक माइक्रोफोन तथा एक सिम कार्ड स्लट (SIM Slot) राखिएको छ ।
यसलाई Piano Black,र Mystic silver गरि २ वटा कलर भेरिएन्टमा उपलब्ध गराइएकाे छ ।
मूल्य
चीनमा लञ्च गरिएकाे यो फोनको बजार मूल्य ६ जीबी र्याम+ १२८ जीबी स्टोरेज भेरिएन्टको २ हजार ९ सय ९९ युआन तोकिएको छ । जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ५१ हजार रुपैँया पर्न आउँछ । यस्तै ८ जीबी र्याम+ १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य ३ हजार २ सय ९९ युआन निर्धारण गरिएकाे छ, जसकाे नेपाली मूल्य लगभग ५६ हजार १ सय रुपैंया पर्न आउँछ । त्यसैगरि १२ जीबी र्याम+ १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य ३ हजार ५ सय ९९ युआन निर्धारण गरिएकाे छ । जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ६१ हजार २ सय रुपैंया पर्न आउँछ । चीनमा जुन १ देखि याे स्मार्टफोन बिक्री हुने कम्पनीले जनाएकाे छ ।