१. बन्दाबन्दीको ७४ औं दिन : स्वरुप परिवर्तन गर्न सांसदको माग
७४ दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले बन्दाबन्दीको हालको रणनीति बदलेर प्रभावित र कम प्रभावित क्षेत्रको किटान गरी आर्थिक गतिविधि बढाउन आग्रह गरे ।
२.सोती घटनाको छानविन गर्न विशेष समिति गठन गरिने
६ जनाको ज्यान जाने गरी रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए ।
३. एकैदिन थपिए २७८ संक्रमित, संक्रमितकाे संख्या ३ हजार नजिक
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याे सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेकाे छ। यीमध्ये ११ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।
४. कोरोनाका कारण २८ वर्षिय यूवकले गुमाए ज्यान, मृतकको संख्या ११ पुग्यो
नेपालमा कोरोनाभाइरस संक्रमणका कारण ११ औँ व्यक्तिको मृत्यू भएको छ। क्वारेन्टिनबाट घर फर्कने क्रममा गत २२ गते मृत्यू भएका सुर्खेतका २८ वर्षिय यूवकको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए।
५. म्यान्मारबाट आइपुगे २६ नेपालीहरु
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार कार्य आजबाट सुरू गरेकाे छ । याे सँगै आज म्यानमारबाट २६ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन् । आफ्नो देशको नागरिक लिन आएको म्यानमार एयरफाेर्सको विमानबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन्।
६. सोती घटना : थप सात जना पक्राउ
प्रेम पछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । याे सँगै यस घटनामा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन्।
७. जापानबाट ७ नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स
विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार कार्य सुरू गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए।
८. अष्ट्रेलीयामा नेपालीहरुको अवस्था सामान्य छ– राजदुत दाहाल
अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले अष्ट्रेलियामा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। नेपाल शैक्षिक परामर्श संघ इक्यानद्वारा शुक्रबार आयोजित वेभिनारमा बोल्दै उनले त्यहाँ रहेका नेपालीहरुको सहयोगका लागि विभिन्न किसीमका पहलकदमी भइरहेको जानकारी दिए।
९. लकडाउन उल्लंघन गरी यार्सा संकलन गर्ने १२ जना पक्राउ
लकडाउनको समयमा यार्सागुम्बा संकलन गरेको भन्दै डोल्पा जिल्ला प्रशासनले १२ जनालाई पक्राउ गरेको छ। प्रशासनले लकडाउनको समयमा यार्सा संकलन रोक लगाएको थियो।क्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ की २१ वर्षीया राजकुमारी सार्की, १४ वर्षीया सिर्जना सार्की, १९ वर्षीय गोविन्द सार्की, १४ वर्षीय गणेश सार्की, १५ वर्षीय युवराज सार्की, १५ वर्षीय कृष्ण विक, ३० वर्षीय दिलबहादुर सार्की, १९ वर्षीय रमेश सार्की, २१ वर्षीय कालीबहादुर सार्की, १८ वर्षीय धनराज विक, २६ वर्षीय देवबहादुर सार्की र १४ वर्षीय दिपक सार्की रहेका छन् ।
१०. सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँ: कानूनमन्त्री भण्डारी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताएका छन् । उनले कर्णालीमा बनेका सार्वजनिक संरचना कमी हुनु तथा भएका संरचना पनि गुणस्तरीय नहुनाले पनि क्वारेन्टिन व्यवस्थित नभएको प्रष्टीकरण दिए ।
११. स्वदेश फर्कनेलाई टेलिकमबाट निःशुल्क सिमकार्ड
कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१२. सामसङ ग्यालेक्सी एम ३१ र एम२१ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य
सामसङले आफ्नो ग्यालेक्सी ‘एम’ सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी एम थर्टिवान (Galaxy M31) र ग्यालेक्सी एम ट्वान्टिवान (Galaxy M21) नाम दिइएकाे दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हाे।