पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ८६ जना पुरूष र ३७ जना महिला संक्रमितहरु भेटिएको पुष्टि गरे।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट एकैदिन २ जनाको मृत्यू भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले यसको पुष्टि गरेका हुन्। ज्यान गुमाउनेमा डाेल्पाका ५८ वर्षिय पुरूष र धनगढीकी ५० वर्षिय महिलाकाे मृत्यू भएकाे डा. देवकाेटाले बताए। यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यू हुनेको सख्या १३ पुगेको छ।
भोलि(आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो। ११ चैतदेखि बन्द भएका सबै मालपोत कार्यालय साढे दुई महीनापछि सञ्चालनमा आउने भएका हुन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको औँल्याएको छ। विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा बस्नाको विकल्प नरहेको बताए।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले आज एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै सङ्ख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो ।
बन्दाबन्दीको पछिल्लो एक महिनामा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने रु तीन अर्ब लगानी भित्रिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रूपैँया बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख रूपैँया विदेशी लगानी र चार नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख रूपैँया स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ । सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७र७८ को बजेटको बुँदा नं १६६ मा भएको उक्त व्यवस्था संविधानको मर्म र जनभावनाविपरीत देखिएकाले त्यसलाई हटाइ संविधानप्रदत्त निःशुल्क तथा अनिवार्य शिक्षाको हक सुनिश्चित हुने बजेटको व्यवस्था गर्न माग गरिएको छ ।
बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ। सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा बस्न पाउने भएका छन्। विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टिनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राखिनेछ।
आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ। अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ। वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो।
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो। “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले भने, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ।” उनले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताए।
कोभिड– १९ बाट सिर्जित जोखिमबीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ। उक्त दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा शनिबार काठमाडाैंमा आयोजित कार्यक्रमका सहभागी विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका लागि सुरक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिएका छन्।
एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ। नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो।
तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई आज ९शनिबार० अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित पक्राउ गरेको हो । आज बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख लिदैँ गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।