१.थपिए ६ सय ७१ नयाँ संक्रमित, संक्रमितको संख्या ७ हजार ८ सय ४८
नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको पुष्टि गरे। अाज भेटिएका संक्रमितहरूमा ५ सय ९१ जना पुरूष र ८० जना महिला रहेका छन् । यस्तै कुल संक्रमित मध्ये ७ हजार २ सय २९ जना पुरुष र ६ सय १९ जना महिला छन्।
२.नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे। मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन्।
३.एमसिसीबारे छलफल गर्न असार १० गते नेकपा स्थायी कमिटी बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न असार १० गतेको लागि स्थायी कमिटी बैठक बोलाएको छ। बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच भएको भेटमा नेकपाभित्र लामो समयदेखि अन्योलमा रहेको एमसिसी परियोजनाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने निष्कर्ष निश्कर्ष निकलेको हो।
४. ‘तपाईँहरुसँग तथ्य प्रमाण छन् भने वार्तामा राख्नुस्’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि प्राप्त गर्न अभूतपूर्व राष्ट्रिय एकता पैदा भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै उनले सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा सबै राजनीतिक दल र नेपाली जनता एक ढिक्का बनेको बताए।
५. सीमामा सशस्त्र प्रहरीको आवास निर्माण शुरु
बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन्। सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा रु १० लाखमा आवासीय भवनको निर्माण शुरु गरेको छ। सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन्। उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताए।
६. कर्णाली प्रदेशको बजेटमाथि छलफल शुरु
कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आव २०७७/७८ बजेटमाथि छलफल शुरु भएको छ। कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको १४औँ बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजश्व र व्यय अनुमानसहितको आगामी आवको बजेट छलफलका लागि सभासमक्ष प्रस्ताव गरेसँगै बुधबारदेखि बजेटमाथि छलफल शुरु भएको हो।
७. मलेसियाबाट १ सय १७ नेपाली बाेकेर काठमाडाैं आउँदै हिमालय एयरलाइन्स
१२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना बाेकेर हिमालयन एयरलाइन्स काठमाडाैँ फर्कंदै छ। जहाज साँझ ६ काठमाडाैं अवतरण गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन्। यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ। फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यहोर्नु पर्ने नियम छ।
८. पोखरामा महिलालाई छुट्टै क्वारेन्टिन
पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो। विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो। लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ।
९. फरार चौकीदार पक्राउ
बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
१०. ट्वीटरमा नयाँ फिचर, अब भ्वाईस रेकर्ड गरेर अडियो ट्विट गर्न सकिने
माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका नयाँ फिचर ल्याएको छ। कम्पनीले हालै ‘भ्वाइस ट्वीट’ (Voice Tweet) नामक नयाँ फिचर सार्वजनिक गरेको हो। याेसँगै अब ट्वीटरमा भ्वाईस रेकर्ड गरेर अडियो ट्विट गर्न सकिने छ। यद्यपी ट्वीटरले यो फिचर हालसम्म सबै प्रयोगकर्ताका लागि भने उपलब्ध गराइसकेकाे छैन्। कम्पनीले यो सुविधा तत्कालका लागि केहि आईओएस अर्थात एप्पल डीभाइस प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराएको छ।