यसको मूल आलेख पढ्न यस लिंकमा जानुहोस् ।
आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता
आयुर्वेदमा प्रमुख तीन संहिताहरुलाई शास्त्रीय ग्रन्थका रूपमा लिइन्छ । ती हुन्, चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टाङ्गहृदयसंहिता । यी तीनमध्ये कालखण्डका हिसाबले चरकसंहिता सबैभन्दा पुरानो हो ।
अग्निवेशले बनाएको शास्त्रलाई चरकले सम्पादन गरेको यस ग्रन्थको सबैभन्दा पहिलो संस्करण इशापूर्व २–३ शताब्दीतिरसम्म भैसकेको थियो भनेर विद्वानहरु बताउँछन् (भुजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः४) । शास्त्रीय संस्कृतको प्रयोग गुप्तकालीन समय इशाको ४०० तिर मात्रै शुरुवात मानिने भएकोले चरकसंहितामा प्रयुक्त भाषा हेर्दा धेरैपटक सम्पादन गरिएको देखिन्छ ।
त्यसैगरी अर्को प्रमुख संहिता ग्रन्थ सुश्रुतसंहिता ग्रन्थ विशेष छ किनभने यसले शल्यक्रियाको विशद् व्याख्या गरेको छ । कस्ता उपकरणहरु प्रयोग गरेर शल्यक्रिया गर्ने कुरालाई पद्धतिगत रूपमा पहिलोपटक यसै ग्रन्थले गरेको हो । संसारमा शल्यक्रियाको यसरी विशद् व्याख्या गर्ने यो पहिलो पुस्तक पनि हो । यस ग्रन्थको कालखण्ड पनि चरकसंहिता जस्तै निर्क्यौल हुन सकेको छैन तर पनि विद्वत्मत इशाको छैटौं शताब्दीसम्मलाई हालको संस्करण तयार भएको थियो भन्ने छ (भुजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः६४) ।
अर्को प्रमुख ग्रन्थ वाग्भटकृत अष्टाङ्गहृदयसंहिता ग्रन्थले चरक र सुश्रुतसंहिताको सारभूत कुराहरुलाई स्पष्टसँग प्रस्तुत गरेको छ । यसर्थ यो महत्त्वपूर्ण ग्रन्थ हो । नेपाल तथा भारतका आयुर्वेदिक कलेजहरुमा यस ग्रन्थलाई प्रमुख स्थान दिएर पठनपाठन गरिन्छ । वाग्भटको समय इशाको सातौं शताब्दीलाई मानिएको कुरा माथि नै उल्लेख गरियो ।
बौद्ध धर्म मान्ने वाग्भट सिन्धुदेशका थिए भनेर इतिहासकारले मानेका छन् (मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल लिट्रेचर १९९९–२००२, ठेली आइ ए, ५९७–६५६) । जसरी यूरोपमा गेलेन र मध्यपूर्वमा इबिन सेनाको उपस्थितिलाई स्वास्थ्यविज्ञानको इतिहासमा गर्विलो रूपमा लिइन्छ त्यसैगरी वाग्भटलाई पनि दक्षिण एशियाली स्वास्थ्यविज्ञानको क्षेत्रमा महत्त्वपूर्ण रूपमा लिइन्छ । उनको ग्रन्थ सरल अनि गहन छ ।
त्यसैगरी माधवनिदान, काश्यपसंहिता, भेलसंहिता लगायत ग्रन्थहरु छन् । जुन इशाको पहिलो सहस्राब्दी अगाडि नै लेखिए । तिनीहरुले आयुर्वेदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । आयुर्वेदमा इशाको १२ शदीपछि रसायनशास्त्रहरले प्रमुख स्थान लियो । पारो अर्थात् मर्करीको प्रयोग, सुन जस्ता धातुहरुको औषधीय प्रयोग इत्यादि रसायनशास्त्रले बताउँछन् ।
त्यसैगरी रसायनशास्त्रले जीवनमुक्ति कसरी प्राप्त गर्ने, सिद्धि कसरी प्राप्त गर्ने इत्यादि कुराहरु स्वास्थ्यविज्ञानमा भित्र्यायो । नाडीपरिक्षा जस्ता नौला प्रयोगहरु यही कालखण्डमा भए ।
यसरी आयुर्वेदको आफ्नै इतिहास छ । आफ्नै उपचार पद्दतिसहितको आयुर्वेदलाई सदियौंदेखि दक्षिण एशियाली समाजमा प्रयोग गरिदैं आइएको छ । आधुनिक स्थापित स्वास्थ्यपद्दति आउनुभन्दा अगाडि हामीहरु यही पद्धतिलाई प्रमुखताकासाथ प्रयोग गर्दै आएका हौं । आज पर्यन्त गर्दै पनि छौ ।
हरेक पद्दतिको आफ्नै सिमितता हुन्छ आयुर्वेदको पनि छ । आजको समयमा आयुर्वेदलाई समन्वयवादी स्वास्थ्य पद्धतिको रूपमा लान सकिन्छ । किनकि आधुनिक स्थापित स्वास्थ्य पद्धतिका पनि आफ्नै विवशता छन् । पूर्ण कुनै पद्दति हुँदैन । यसर्थ दुवै वा अन्य समेत गरी समन्वयात्मक स्वास्थ्य पद्दतिमा जाँदा उपचार पद्दति सहज, सरल र प्रभावकारी हुन्छ ।
आलेखाकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन्
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
आयुर्वेद कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गर्छ