यसको मूल आलेख पढ्न यस लिंकमा जानुहोस् ।
आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गरेको छ, जसको आफ्नै वैशिष्ट्य इतिहास छ । विभिन्न व्याख्यान् अनि तहगत अवस्थाको कारणले गर्दा आयुर्वेदको आधारभूत संरचना के हो भन्न अलिक अप्ठ्यारो छ (भूजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः xvii) । यद्यपी प्रमुख वैचारिक क्लष्टर रहिआएको छ आयुर्वेदिक परम्परामा । दोष, धातु अनि मल यी तीन पक्षहरु प्रमुख पात्र हुन् आयुर्वेदिक उपचार पद्दतिका ।
त्रिदोष सिद्धान्त अर्थात् त्रिदोष–विद्याले तीन अर्ध–तरल वस्तुहरु हाम्रो शरीरमा हुन्छन् र तिनीहरुले शरीरको अवस्था निर्धारण गर्छन् । वात, पित्त अनि कफ यी तीन दोषहरु हुन् । त्रिदोष सिद्धान्त ग्रीकको प्राचीन स्वास्थ्य सिद्धान्तसंग मेल खान्छ जसलाई हिप्पोक्रिटस अनि गेलेन जस्ता स्वास्थ्य दार्शनिकहरुले प्रतिपादन तथा संपादन गरेका थिए । यी तीन दोषहरु शरीरका अन्य सात भागहरु जस्तै रगत, बोसो, बोन् म्यारो, शुक्र, लगायतसँग अन्तर्क्रिया गरिरहन्छन् । शरीरले त्याग गर्ने दिशापिसाब जुन मल हुन् यिनीहरुसँग पनि निरन्तर अन्तर्क्रिया गरिरहन्छन् ।
आयुर्वेदले कसरी उपचार गर्छ भन्ने प्रश्न आइरहन्छ । आयुर्वेदले प्रमुखतया जनावर र शाकसम्बन्धी वस्तुहरुको प्रयोगबाट औषधोपचार सिफारिस गर्दछ । जसको मुख्य पद्धति खानपान, वमन, विरेचन, शल्यक्रिया इत्यादि तरिकाबाट उपचार सिफारिस गर्दछ ।
आयुर्वेदीय पद्धतिमा पनि इशाको पहिलो शताब्दीबाटै धातुजन्य पदार्थको प्रयोग भएको पाइन्छ । तर पनि यस्तो प्रयोग छिटफुट मात्रै हो मुख्य कुरा आयुर्वेदीय पद्धतिमा आफ्नै द्रव्यगुण परम्परा छ, अर्थात् आफ्नै औषधीविज्ञान छ । इस्लामिक श्रोतहरुको प्रयोगबाट झाडावान्ता जस्ता समस्या रोक्नको लागि अफिम पनि प्रयोग भएको पाइन्छ ।
आयुर्वेदका शास्त्रीय ग्रन्थहरुले प्रमुख रूपमा बौद्धदर्शनको मध्यममार्गलाई आफ्नो प्रमुख बाटो बनाउँछन् विशेषगरेर उपचार पद्धतिमा । न त अति न त न्यून केवल मध्यम किसिमको । आयुर्वेदका प्रमुख हस्ती वाग्भटले आफ्नो प्रमुख ग्रन्थ ‘अष्टाङ्गहृदयसंहिता’मा यसलाई प्रट्याएका छन् जुन ग्रन्थको रचनाकाल इशाको सातौं शताब्दीलाई मानिएको छ (मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल् लिट्रेचर, १९९९–२००२, ठेली आइ ए, ५९७–६५६) ।
त्यसैगरी अरु शास्त्रीय ग्रन्थ जस्तै चरकसंहिता, सुश्रुतसंहिताले संयमी आचारविचारलाई प्राधान्य दिएको छ । जस्तै कि खानामा, यौनमा, औषधीको मात्रामा साथै कति मात्रा हुनुपर्ने ? उक्त चीजहरुको प्रयोगको मुख्य कारण के हो ? आयुर्वेदीय उपचारपद्धतिको बारेमा कुरा गर्दा शरीर र यसको कार्यको बारेमा पनि बुझ्नुपर्ने हुन्छ । शरीरको प्रमुख प्रक्रिया भनेको पाचन हो । संस्कृत शब्दहरु, पाचन, दीपन ले यही दहन गर्ने भन्ने प्राचनप्रणालीलाई इङ्गित गर्दछन् । सोही पाचनशक्तिलाई ूअग्निू अथवा ‘जठराग्नि’ भनेर सम्वोधन गरिन्छ आयुर्वेदीय साहित्यमा ।
जब हामीले खाएको खाना उक्त अग्निले पकाउँछ तब त्यो धातु बन्दछ त्यो हो रस । खाना आमाशयमा रसको रूपमा रहन्छ । त्यसपछि अरु मुख्य ताप, पित्त इत्यादिको संयोजित कार्यबाट सो रस रगतमा परिणत हुन्छ । सो रगत मांसमा परिणत हुन्छ् । अन्त्यमा ६ वटै धातुमा परिणत भएर शुक्र बन्दछ ।
शार्ङ्गधरले यो प्रक्रियाको विशेष चर्चा गरेका छन् आफ्नो संहितामा जुन इशाको चौंधौ शताब्दीतिर रचिएको हो । शरीरको सबै अंगहरुबाट आकृष्ट गरिएको तत्त्व नै शरीरको लागि मुख्य बल समान बन्दछ जुन ओजस् हो जसलाई तागत पनि भन्न सकिन्छ ।
त्यसैगरी नलीहरुको जालोहरुले ती तरल वस्तुलाई शरीरको एक ठाउँबाट अर्को ठाउँमा लाने गर्दछन् । ती नलीहरुमा दोष, वात, अनि मन पनि पर्दछन् । रमाइलो लाग्ने कुरा आयुर्वेदमा के पनि छ भने उन्माद नलीहरु अवरुद्ध भएर हुन्छ ।
अब रोग कसरी लाग्दछ भनेर हेर्यौं भने, जब अवरुद्ध हुन्छ तब ती धातुहरु आफ्नो बाटोमा जान सक्दैनन् त्यसले गर्दा समस्याहरु आउँछन् । पक्षघात, अपस्मार घुडा दुख्ने इत्यादि रोग लाग्छ भनेर सुश्रुतसंहितामा बताइएको छ ।
आयुर्वेदको अर्को महत्वपूर्ण पक्ष भनेको वातावरण पनि हो । ऋतु परिवर्तनसँगै हामीमा धेरै परिवर्तन भैरहेको हुन्छ भन्ने कुरा शास्त्रीय ग्रन्थहरुले टड्कारो रूपमा गर्छन् । भोजनको बारेमा पनि निक्कै व्याख्या पाइन्छ । अर्को रमाइलो पक्ष के हो भने मांसको प्रयोगलाई आयुर्वेदले स्वीकारेको छ । कति स्वास्थ्य समस्याको निदानको लागि गाईको मासुलाई उपयुक्त ठहर्याइएको छ ।
आयुर्वेदको पहिलो संहिता, (चरकसंहिता १. २७.७९) अध्यायमा यसको बारेमा चर्चा गरिएको छ । गोमांस वाथजनित समस्याको लागि, विशेषतः अनियमित ज्वरोको लागि, सुख्खा खोकीको लागि, धेरै नै थकित भएको बेलाको लागि उपयुक्त हुन्छ भनिएको छ ।
आलेखाकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन् ।
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
प्रमुख आयुर्वेदीय ग्रन्थमा के छ ?
आयुर्वेद कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?