भृकुटीमण्डपको चउरमा बसेर घोत्लिँदै थिएँ, फोन आयो । घनश्यामले गरेको रहेछ ।
घनश्याम मेरो पुरानो साथी हो । ऊ कलाकारितामा संघर्ष गर्दैछ । उसले कलाकारिता र मैले पत्रकारितामा संघर्ष गरेको समयावधि उतिनै भयो । न ऊ स्थापित हुन सकेको छ, न म । हामी अस्थापितहरुको कुरा मिल्छ ।
‘कता हो पाटी ?’ उसले सधैं सुरुमा सोध्ने प्रश्न र शैली यस्तै हो ।
‘भृकुटीमण्डप । तपाईं ?’
‘म बागबजार, भेट्ने हो त ?’
उसले ‘भेट्ने हो त !’ भनेपछि मैले बुझ्ने, ‘दारु खाने हो त ?’ भन्ने हो । काम नभएर बरालिइरहेको छु । सुलोचनाको सम्झनाले एकोहोरिएको छु । दारु खुवाउने साथी पाए किन नभेट्ने !
‘हुन्छ, भेटौं । तर मसँग पैसा छैन है !’ पहिल्यै टकटकिएँ ।
‘तपाईंसँग कैले भा’को हो र ? मसँग छ । ल बागबजार पिके क्याम्पस अडाडिको गल्लीमा आउनुस् ।’ उसले ख्यास्दै बोलायो । म गएँ ।
पीके क्याम्पस अगाडिको गल्लीभित्रको चिया पसलमा बसिरहेको रहेछ । म पुग्नेबित्तिकै जुरुक्क उठेर गल्लीको पनि गल्लीभित्र छिर्यो । म उसको पछिपछि लागें । एउटा हरियो पर्दावाला भट्टीमा छिर्यो । म पनि छिरें ।
- ‘नहुने भो यार । जीवनमा जे गर्छु भन्छु, रोकिन्छ । केइमा सफल नहोइने भइयो । मलाई त जीवनदेखि दिग्दारी लागिरहेको छ ।’
गतिलो खालको थिएन भट्टी । पुरानो र्याकमाथि भुटन, चना र राँगोको मासुका ठुल्ठूला चोक्टा राखिएको छ । र्याककै कुनामा ग्याँस चुल्हो । साँघुरो स्पेशमा मिलाएर राखेका चारवटा टेबल र पुराना कुर्सी । एक कुनामा बसेर एउटा मान्छे भटमाससँग स्टिलको गिलासमा ठर्रा पिइरहेको रहेछ । घनश्याम अघिल्लो टेबलको कुनापट्टि गएर बस्यो । म उसको सम्मुख हुनेगरी बसें ।
‘यहाँ दाम्मी तोङ्बा पाइन्छ । तान्ने होइन त ?’
‘हुन्छ ।’
‘दिदी चारवटा तोङ्बा भिजाइदिनुस् न !’ उसले अर्डर गर्यो ।
‘किन चार वटा ?’ मैले सोधें ।
‘एउटाले पुग्दैन । दुई–दुई वटा पिउने । एउटा भिजाउने अर्को तान्ने, अर्को भिजाउने एउटा तान्ने ।’
घनश्याम मुडमा रहेछ । कहाँबाट पैसा ल्यायो, नष्ट गर्ने विचारमा रहेछ ।
उसले सितन अर्डर गर्योः एक–एक प्लेट भुटन र सुकुटी ।
तोङ्बा आयो । तान्न थाल्यौं । मुख अमिलो पार्दै घनश्यामले मसँग प्रतिक्रिया माग्यो, ‘छैन त दामी ?’
‘ठिक छ ।’
सितन पनि आयो । पालैपालो तोङ्बा तानिरह्यौं । ट्रिप दिन थाल्यो । कुरा पग्रियो ।
‘तपाईंको किताब लेख्ने कुरा कहाँ पुग्यो ?’ उसले सोध्यो ।
‘नहुने भो यार । जीवनमा जे गर्छु भन्छु, रोकिन्छ । केइमा सफल नहोइने भइयो । मलाई त जीवनदेखि दिग्दारी लागिरहेको छ ।’
‘यस्तै हो जीवन । धेरै भावुक नहुनुस् । चल्दै जान्छ । तर, तपाईंको उपन्यास आए त्यहींमाथि फिल्म बनाउँथे ।’
‘पात्रै हराई । कसरी लेख्नु उपन्यास ?’
‘फिक्सन त हो यार । तपाईंलाई फाँडी हान्न आइहाल्छ । कल्पनाकै भए पनि दाम्मी स्टोरी बनाउनुस् न !’ उसले सुझायो ।
‘ओके आइ विल ट्राइ !’
यति भनेर किताबको प्रसङ्गलाई किनारा लगाउँन खोजें । त्यसपछि अनेक विषयमा कुरा भयो । विगत सम्झियौं । जीवन–जगतबारे बहस गर्यौं । स्वर चर्किदै गयो । भावनामा बहकिदैं गयौं । साँझ परिसकेछ । मैले भनें, ‘अब पुग्यो, जाऔं ।’
‘पुगिसक्यो र ? अब यहाँ एक–एक गिलास कोदोको थपौं र तानौं । मज्जा आउँछ ।’
‘बढी हुन्छ यार । फेरि घर जानै नसकिएला !’
‘सकिन्छ’ भन्दै उसले दुई गिलास लोकल ठर्रा अर्डर गर्यो । तोङ्बामै थप्यौं । तान्यौं । झन् धेरै मात बढ्यो । पिउँदै, गफिदैं गर्दा साडे सात भइसकेछ ।
उसले पैसा तिर्यो, ९५० । ५० रुपैयाँ डिस्काउन्ट गरेर साउनीले ९ सय रुपैयाँ मात्रै लिइन् ।
बाहिर निस्किनेबित्तिकै उसले भन्यो, ‘आज म तपाईंलाई खत्रा ठाउँमा लैजान्छु ।’
- घनश्यामले भनेको रमाइलोको संकेत पाएँ । ऊ यौनका मामलामा पहिल्यैदेखि उदार हो । उदार भन्दा पनि क्रेजी हो । उसलाई हल्का मात चढेपछि यौनको उन्माद उम्लेर आउँछ । तर मलाई त्यस्तो व्यवहार राम्रो लाग्दैनथ्यो ।
‘खत्रा भन्नाले कहाँ ?’
‘रमाइलो गर्ने ठाउँ ।’
‘भन्नाले ?’
‘आउनुस् न । त्यैं गएपछि देख्नुहुन्छ ।’
ऊ अघिअघि हिँड्यो । मैले उसलाई पच्छ्याएँ ।
श्रेष्ठ टेलरअघि पुगेपछि घनश्यमले ट्याक्सी रोक्यो । ड्राइभरलाई सोध्यो, ‘गौशाला जाने हो ?’
‘जाने । कति दिनुहुन्छ ?’
‘मिटरमा जऔं न ।’
‘हुन्छ बस्नुस् । अलिअलि हेर्दिनुस् है, उठेको भन्दा ।’
कुनै जवाफ नदिई घनश्याम ट्याक्सीको क्याबिनमा बस्यो । म पछाडिको सिटमा बसें ।
तोङ्बाले घनश्याम धेरै बोल्ने भइसकेको थियो । ड्राइभरलाई सोध्यो, ‘घर कता ?’
‘दोलखा ।’
‘दोलखा कहाँ ?’
‘पोवटी ।’
‘कति भयो ट्याक्सी चलाउन थालेको ?’
‘दुई वर्ष भयो हजुर । मलेसियाबाट फर्केर ट्याक्सी चलाउन थालेको ।’
‘ए ए । तपैंको कन्ट्याक्टमा कोही छप्की छन् त ?’
‘छैन हजुर ।’
घनश्यामले भनेको रमाइलोको संकेत पाएँ । ऊ यौनका मामलामा पहिल्यैदेखि उदार हो । उदार भन्दा पनि क्रेजी हो । उसलाई हल्का मात चढेपछि यौनको उन्माद उम्लेर आउँछ । तर मलाई त्यस्तो व्यवहार राम्रो लाग्दैनथ्यो । मैले सोधें, ‘हामी त्यस्तोको खोजीमा हो र ?’
‘होइन, होइन । तपाईं पनि बढी सोच्ने क्या ।’
होइन भने पनि उसको नियत बुझिसकेको थिएँ । कुनै बहाना बनाएर उसँग छुटिन मन लाग्यो । पुरानो बानेश्वर पुगेपछि भनें, ‘म यतैबाट कोठामा जान्छु । हिँडेर गए पनि टाढा छैन ।’
‘त्यस्तो होइन क्या । एकछिन रमाइलो गरेर निस्कने हो । बरु तपाईं पनि आज मेरोमै बसौं, एक्लै छु ।’
मेरो केही लागेन । ट्याक्सी गौशाला चोकबाट तिलगंगातिर मोडायो । अलिकति तल झरेपछि सानो बाटोभित्र छिरायो । मूल बाटोबाट सय मिटर जति भित्र पुगेपछि ट्याक्सी रोकायो । साढे दुई सय रुपैयाँ तिरेर ट्याक्सीबाट झर्यो । म पनि झरें ।
- ‘कामले बिजी भएँ नि नानी ! भन्दै उसले त्यो केटीलाई अठ्याँयो । दंग परेर हेरिरहें । मेरो छैवैमा बस्नेले पनि मसँगै लेपास्सिदै सोधी, ‘तपाईं पहिलोचोटि हो ?’
ऊ अघिअघि हिँड्यो, मैले उसलाई पछ्याइरहें ।
सानो बाटोभित्रको झनै सानो गल्लीमा छिर्यो । गल्लीको दाइनेपट्टि एउटा खाजाघर जस्तो रहेछ । बाहिर लेखिएको थियो, ‘यूनिक खाजा घर एण्ड रेस्टुरेन्ट ।’ नाम लेखिएको साइडबोर्ड वरिपरि झिमिक–झिमिक बत्ती बलिरहेको थियो । तिहारमा घरको दैलोमा राख्ने जस्तो । भित्र छिर्यौं । ठूलो आवाजमा गीत घन्किरहेको थियो, ‘सिलाकी जवानी ।’ काउन्टरमा कसैसित नबोली ऊ सरासर एक तलामाथि उक्लियो । मैले उसलाई फलो गरें । माथिल्लो तलाको वातावरण बेग्लै रहेछ । काठको फलेकले बारेका साना–साना कोठा जस्ता । पर्दाले बारेको ढोका । छिर्दै गर्दा देखें, बेग्ला बेग्लै कोठामा केही केटासँगै केटीहरु रहेछन् । केटीहरु पनि केटाहरुसँगै रक्सी पिइरहेका, चुरोट तानिरहेका । कसैको हात केटीको कुर्ता भित्र थियो, कसैको सुरुवाल भित्र । कोही चुम्बन गर्दै रहेछन् । ढोकाको पर्दा खुलै भएको पनि कसैलाई मतलब छैन ।
घनश्याम एउटा खाली कोठाभित्र छिर्यो । म पनि छिरें । उसले सोध्यो, ‘तपाईंलाई क्याबिन भन्ने थाहा थियो ?’
‘सुनेको थिएँ । देखेको थिइनँ ।’
‘यही हो ।’
‘थाहा पाएँ ।’
घनश्यामको छेवैमा बसेको थिएँ । उसले ‘तपाईं उतापट्टि बस्नोस्’ भन्यो । म उसको ठिक अगाडि हुने गरी बसें ।
एकछिनपछि दुई जना केटीहरु छिरे । एउटी घनश्यामको छेवैमा बसी, अर्की मेरो छेवैमा । घनश्यामको छेवैमा बस्नेले भनी, ‘तपाईं त धेरैपछि आउनु भो त !’
‘कामले बिजी भएँ नि नानी ! भन्दै उसले त्यो केटीलाई अठ्याँयो । दंग परेर हेरिरहें । मेरो छैवैमा बस्नेले पनि मसँगै लेपास्सिदै सोधी, ‘तपाईं पहिलोचोटि हो ?’
मैले ‘हो’को भावमा टाउको हल्लाएँ ।
वर्षौ पहिलेदेखि आत्मीय सम्बन्ध भए जस्तरी मसँग नजिकिँदै त्यो केटी बोली, ‘के लिनु हुन्छ ?’
मलाई ओभरटेक गरेर घनश्यामले मेनु गर्दै मगायो, ‘दुईटा टुबोर्ग बीयर, भटमास साँदेको, चिकेन साँदेको र पाँच वटा सूर्य चुरोट ।’
मेरो छेवैमा बसेकी केटी जुरुक्क उठेर हिँडी । अर्कीले घनश्यामलाई भनी, ‘हामीलाई चाहिँ के खुवाउने त ?’
‘खुवाउँला नि बिस्तारै, हतार नगर न ।’ उसले भन्यो ।
‘एक–एक पेग ह्वीस्की पिउँछौं ल ।’ केटीले भनी ।
घनश्यामले ‘हुन्छ’ भन्यो । त्यो केटी पनि उठेर ह्वीस्की लिन हिँडी ।
दुई जना मात्रै भएको मौकामा मैले सोधें, ‘यो के गरेको यार । यस्तो नगरौं ।’
‘ह्या तपाईं पनि । मोज गर्नुस् न मोज ।’
अर्डरअनुसारको सामान लिएर मेरो छेवैमा बसेकी केटी आई । ट्रेलाई टेबलमा राख्दै हाम्रो लागि गिलासमा बीयर भरिदिई । सितनलाई पनि टेबलमा राखी । अर्की पनि आइपुगी, ह्वीस्की लिएर । उनीहरुले नै ग्लास उठाउँदै ‘चियर्स’ भने । चारै जनाले ग्लास ठोक्कायौं । पिउन थाल्यौं ।
- अर्थात् सुलोचनाको डायरीका बाँकी पाना खोज्न आएकी थी । जसलाई मैले मोडसम्म पछ्याएको थिएँ ।
सुरुसरुमा अर्ड लाग्यो । मात्दै गएपछि म पनि अर्कै भएछु । घनश्याम केटीसित खुलेर मस्ती गर्दै थियो । मसँग बस्ने केटी पनि घनश्यामले अर्कीलाई गरे जस्तै गर्दियोस् भन्ठान्थी । तर मलाई त्यस्तो गर्न मन लागेन । तर मात चढेकै थियो । बीयरकै नशामा लठ्ठिदै थिएँ ।
तर, त्यो केटीको व्यवहार भने पट्यारलाग्दो लागिरिहेको थियो । कहिले छाती सुम्सुम्याउँथी, कहिले गर्दन । एकचोटी मेरो पाइन्ट भित्र हात घुसार्न खोजी । मैले झट्कालेर उसको हात हुत्याइदिएँ । उसले हल्का मातेको लवजमा भनी, ‘तपाईंको त छैन कि क्या हो ?’
‘उम्...छैन’ मैले भनें ।
त्यतिकैमा अर्की एउटी केटीले पर्दा सारेर भित्र हेरी । उसको मेरो आँखा जुध्यो । एकछिन हेराहेर भो । अनि केही नबोली हिँडी ।
उसको अनुहार चिने जस्तो लाग्यो । चिने जस्तो होइन, कतै देखे जस्तो । तर कहाँ देखें ? पत्तो पाउन सकिनँ । एकछिनपछि क्लिक भयो । अस्ति मन्दिरमा देखेको केटी त्यही हो । जो बिहानै मन्दिरमा केही खोज्न आएकी थी । अर्थात् सुलोचनाको डायरीका बाँकी पाना खोज्न आएकी थी । जसलाई मैले मोडसम्म पछ्याएको थिएँ । र उसलाई नभेटेर निराश भएको थिएँ ।
एक्कासी मेरो शरीरमा बेग्लै रगत सञ्चार भए जस्तो भयो । सुलोचनालाई भेट्ने आधार बने जस्तो लाग्यो । सोचें, ‘म उत्तेजित हुनुहुँदैन । सुविचारित ढंगमा त्यो केटीसित नजिक हुनुपर्छ ।’
मेरो छेवैमा बसेर ह्वीस्की तानिरहेकी केटीलाई सोधें, ‘अहिले भर्खर चियाएर जाने केटीलाई चिन्छौ ?’
‘चिन्छु नि, किन नचिन्नु ? सँगै काम गर्ने मान्छेलाई पनि चिनिंदैन त ?’
‘मलाई त्यो केटी मनपर्यो । उसलाई पठाइदिन सक्छौं ?’
‘छुच्चो मान्छे !’ भन्दै जुरुक्क उठेर गई ।
ऊसित केही नगरेर अर्को केटी रोजेकोले ‘छुच्चो’ भनी सायद । भने भनोस् । मलाई त्यसको मतलब थिएन । ‘उ त गई, तर साथीलाई पठाउली कि नपठाउली ?’ सोचिरहें ।
घनश्याम अर्की केटीसित रमाइरहेको थियो । उसलाई हाम्रो केही मतलब थिएन । तर मैले उनीहरुबीचको कुरा सुनिरहेको थिएँ ।घनश्याम त्यो केटीलाई आफ्नो कोठामा लैजान फकाउँदै थियो । केटी आनाकानी गरिरहेकी थिई ।
एकछिनपछि मैले रोजेको केटी आई । मेरो छेवैमा बसी । अघिल्ली केटी भन्दा भलाद्मी जस्ती देखिन्थी ऊ । सोधी, ‘के लिनुहुन्छ ?’
‘एउटा बीयर’ आफैंले अर्डर गरें । ऊ बीयर लिन बारतिर गई ।
धन्न त्यो केटीले पठाइदिइ ! तर अब कसरी कुरा गर्ने ? के कुरा गर्ने ? सोचिरहें ।
बीयर ल्याएर मेरो ग्लासमा हालिदिई । उसले ‘ह्वीस्की खान्छु’ भनिन । अघिल्लीले जस्तो छामछाम–छुमछुम पनि गरिन, बसिरही । एक चुस्की बीयर पिएर चुरोट सल्काउँदै मै बोलें, ‘तपाईंको नाम ?’
‘अनुराधा ।’
‘साँचिकै नाम कि ढाँट्नुभएको ?’ मैले शंका गरें ।
‘आफ्नो नाम पनि किन ढाँट्नु र ?’
‘अनि घर ?’
‘गोरखा ।’
एकछिन मौनता छायो । अनि आफैंले भनें, ‘अघि एकपल्ट देख्नेबित्तिकै मलाई तपाईं मनपर्यो ।’
‘हो र ! धन्यवाद ।’
‘मलाई तपाईंको नम्बर दिन सक्नुहुन्छ ?’ मैले आँटले सोधें । क्याबिनमा काम गर्ने केटीलाई नम्बर माग्न पनि मैले बडो साहस जुटाउनु पर्यो ।
‘हुन्छ ।’
‘भन्नुस् त !’ मैले मोबाइल झिकेर नम्बर डायल गर्ने तयारीसहित भनें ।
‘९८०३८१२५७५’
‘नम्बर त सही नै हो नि !’
‘हो ।’
शंका लागेर कल गरें । उसको मोबाइल बज्यो । अनि नम्बर सेभ गरें ।
‘धन्यवाद ।’
‘वेलकम ।’
यति भनेर ऊ बाहिरिन खोज्दै भनी, ‘म एकछिन उताको गेस्टसँग हुन्छु ल ।’
‘इट्स ओके ।’
मलाई लागेको रक्सीले नि छाड्यो । बेग्लै आशाको सञ्चार भयो । एक हिसाबले खुसी बढ्यो । धेरै दिनपछि म त्यति खुसी भएको हुँ ।
खुसी हुन ठूला ठूला उपलब्धी चाहिने होइन रहेछ । चाहेका सानासाना कुरामा नै खुसी खोज्ने रहेछ, भेटिँदो रहेछ । खुसी हुने होइन, अनुभूत गर्ने कुरा हो भन्ने त सुनेकै हो । तर, भित्रैदेखि खुसी भएँ । अर्थात् खुसी पाएँ । खुसीका साथ एक ग्लास बीयर ग्याम्बे हानेर हत्केलाले ओठ पुच्छ्दै घनश्यामलाई भने, ‘अब जाने होइन ?’
‘हुन्छ, जाने अब’ भन्दै उसले आफूसित बसेकी केटीलाई अर्डर दियो, ‘जाउ त नानी बील कति भयो लिएर आऊ ।’
केटी उठेर काउन्टरतिर लागी । उसले मलाई सोध्यो, ‘मजा भएन त बुढा ?’
‘भयो । अब मजा पनि पुग्यो ।’
‘मजा लुट्नु पर्छ बुढा, मरिलानु के छ र ?’ उसले गहिरो कुरा गर्यो ।
केटी बील लिएर आई । घनश्यामले नै बील हेर्यो । सात हजार भएछ । तिर्यो । केटीलाई एक हजार टिप्स पनि दियो । अनि हामी बाहिरियौं ।
क्याबिन बाहिर ट्याक्सीको लाइन थियो । उसले एउटा ट्याक्सी समायो । जोरपाटी नयाँबस्ती पुर्याइदिन भन्यो । ट्याक्सीमा मैले भने, ‘आज क्याबिन आएर धेरै राम्रो गरेछौं नि !’
‘बुढालाई पनि रमाईलो भएछ ।’ उसले हल्का हाँस्दै लर्बराएको स्वारमा बोल्यो ।
‘त्यस्तो होइन ।’ मैले भनें ।
‘कस्तो त ?’
‘कुरा अर्कै छ । पछि भन्छु ।’
जोरपाटी नयाँबस्तीस्थित उसको कोठा छेउमा पुगियो । उसले ट्याक्सी भाडा तिर्यो । कोठमा पुगेर दुबै जना ढल्यौं ।
मेरो दिमागमा अनुराधा र सुलोचनाको चित्र मिसिएर घुमिरह्यो ।
क्रमशः