आधुनिक स्वास्थ्य प्रणालीको जगजगीमा संसार रत्तिएको जस्तो देखिन्छ । मानौं कि सदियौंदेखि हामी नेपाली पनि यही प्रणालीमा आधारित जीवनयापन गरिरहेका छौं । तर ऐतिहासिक घटनाहरुलाई हेर्ने हो भने यसको आयु सुरु भएको त्यत्ति लामो होइन ।
सन् १६२४ तिर राजा प्रताप मल्लले फादर डोर्भिललाई धर्म प्रचार गर्न दिएको तथा स्वास्थ्य संस्था चलाउन दिएको लिखत प्रमाण पाइन्छ । साथै सन् १७४० अर्थात् वि.सं १७९७ तिर आएर मात्रै औपचारिक रूपमा नेपालमा पश्चिमा स्वास्थ्यको सुरुवात भएको देखिन्छ ।
राजा रणजित मल्लले इटालियन पादरी डे रेकान्टीलाई धर्म प्रचार गर्न दिएको अनि उनै पादरीले स्वास्थ्यसम्बन्धी केही उपदेश दिएको भन्ने लिखित प्रमाणहरु पाइन्छन् । त्यसो हो भने आयुर्वेदिक साहित्यहरुको पश्चिमा स्वास्थ्य साहित्यहरुसँग कहिलेबाट अन्तर्क्रिया हुन थाल्यो भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । यस आलेखमा संक्षिप्तरूपमा आयुर्वेदिक लेखन साहित्यको पश्चिमा स्वास्थ्यसँगको सम्पर्कको बारेमा चर्चा गरिएको छ ।
मूलभूतरूपमा नेपालमा आधुनिक स्वास्थ्य प्रणाली अर्थात् एलोपेथीको सुरुवात भएको धेरै समय भएको छैन । तर पनि ऐतिहासिक रूपमा हेर्ने हो भने यसको इतिहास सोचेजस्तो छोटो छैन । दक्षिण एसियामा खास गरेर हालको भारत, पाकिस्तान अनि बंगलादेशमा युरोपियन उपनिवेशवादी शासन सुरु भएपछि युरोपियन धर्मप्रचारक मण्डलीहरुको बिगबिगी बढ्न थाल्यो । धर्म प्रचार गर्न उनीहरु चीनसम्म पनि पुगेको कुरा इतिहासमा ताजै छ । पुनर्जागरणको उदयसँगै युरोपमा स्वास्थ्यसम्बन्धी धेरै नयाँ सोच अनि चिन्तनको विकास अनि प्रयोग भैरहेको थियो जसले जनधनमा सकारात्मक प्रभाव पनि पार्दै गएको थियो ।
- युरोपियनहरुले सोह्रौं शताब्दीदेखिनै आयुर्वेदिक औषधीहरुको बारेमा जानकारी पाउन थाले र उक्त जानकारीलाई लिपिबद्द गर्न पनि सुरु गरे ।
आयुर्वेदको बहुरूपी अनुहार भन्ने लेखमा म्यूलेनबेल्ड् चर्चा गर्छन्, ‘आयुर्वेद र पश्चिमा चिकित्साको सम्पर्कको सुरुवात इशाको सोर्हौं शताब्दीबाट भएको हो ’ (हेर्नुस्, द मेनी फेसेस् अब् आयुर्वेद १९९५, जर्नल् अब् दि यूरोपियन् आयुर्वेदिक सोसाइटी, ठेली ४, पेज नं. ८० )
फिरंगरोग अर्थात् सिफिलिस् (नेपालीमा भिरंगी भनेर पनि चिनिन्छ) भन्ने रोगको उल्लेख पहिलोपटक ‘भावप्रकाश ’भन्ने भावमिश्ररचित ग्रन्थमा भएको हो । फिरंगा अर्थात् युरोपियनहरुले विशेष गरेर पोर्चुगिजहरुले ल्याएको रोग र उनीहरुबाटै अरु मान्छेहरुमा पहिलोपटक सरेको हुनाले यस रोगको नामै फिरंगरोग राखिएको हो । इशाको पन्ध्रौ शताब्दीमा यो रोग इटालीमा महामारीकै रूपमा लिएको र युरोपमा अन्य देशमा फैलिएको थियो ।
युरोपियनहरुको उपनिवेशसँगै आयुर्वेद र पश्चिमा चिकित्साले एक अर्कालाई बिस्तारै चिन्ने अनि चिनाउने मौका औपचारिक रूपमा पाएको हो । ऐतिहासिक कालखण्डमा यसभन्दा अगाडि नै विभिन्न माध्यमबाट आयुर्वेद इरान, इराक अनि पश्चिम एसिया हुँदै यूरोप पुगेको थियो भन्ने एकाथरीको भनाइ छ । यसका बारेमा अझै ठोस रूपमा अध्ययन भइनसकेको परिप्रेक्ष्यमा यस आलेख त्यतातिर केन्द्रित हुँदैन ।
युरोपियन उपनिवेशवादी शासनको उदयसँगै सोर्हौं शताब्दीको मध्यतिर फान् रिडे टोट् ड्राकेन्स्टान भन्ने एक डच अनि गार्सिया डा ओर्टा भन्ने पोर्चुगिज उक्त समयमा भारतमा बस्ने गर्थे । उनीहरुको विशेष रुची आयुर्वेदिक पद्दतिमा रहेको थियो भन्ने कुरा उनीहरुको पुस्तकबाट थाहा पाउन सकिन्छ । डा ओर्टाको, ‘कलोकिज अन् द सिम्पल्स् याण्ड् ड्रग्स् अब् इण्डिया ’ भन्ने पुस्तकबाट आयुर्वेदिक पद्दतिले तात्कालिन भारतमा कस्तो प्रभाव पारेको थियो, पछि कसरी युरोपियन चिकित्सा पद्दतिसँग यसको साक्षात्कार हुँदै गयो भन्ने कुरा थाहा पाउन सकिन्छ ।
यो पुस्तक सन् १५६३ मा भारतको गोवामा पोर्चुगिज भाषामा पहिलोपटक प्रकाशित भएको हो । रोचक प्रसंग के पनि छ भने भारतको इतिहासमा यो तेस्रो प्रकाशित किताब हो । गोवामा पोर्चुगिज भाषामा भारतमै सबैभन्दा पहिलोपटक पुस्तक प्रकाशित भएको थियो । यो पुस्तक प्रकाशित हुनुभन्दा ७ वर्ष अगाडि प्रिन्टिङ्ग प्रेसको सुरुवात पोर्चुगिजहरुबाट सन् १५५६ मा भएको थियो ।
अर्का ड्च विद्वान् याकोबुस् बोन्टिउस् (१५९२–१६३१) ले उष्ण हावापानीमा लाग्ने रोगहरुको विशद् अध्ययन गरेर सन् १६५८ मै प्रकाशित गरेका थिए भने यसको अंग्रेजी अनुवाद सन् १७६९ मा प्रकाशित भएको थियो । उनले भारतमा पाइने स्थानीय वनस्पतीहरुको औषधीय गुणहरु अनि तिनीहरु कहाँ कहाँ पाइन्छन् भनेर आफ्नो उक्त पुस्तकमा उल्लेख गरेका छन् । रमाइलो पक्ष के पनि छ भने स्थानीय महिलाहरुमा आयुर्वेदिक औषधीको धेरै नै ज्ञान रहेको थियो भनेर उनले उक्त पुस्तकमा चर्चा गरेका छन् ।
यसैगरी ब्रिटिस इष्ट इण्डिया कम्पनीको उपनिवेशकालीन भारतमा पनि आयुर्वेद र पश्चिमा चिकित्साशास्त्रको राम्रै हिमचिम रहेको थियो भनेर टी. जे. एस्. पेट्टेर्सन्ले आफ्नो लेखमा उल्लेख गरेका छन् (हेर्नुस्, भूजास्टिक, डोमिनिक तथा जी. जान् म्यूलेन्बेल्ड्, सम्पादित, १९८७, स्टडिज् अन् इण्डियन् मेडिकल् हिस्ट्री, पे. ११९–१२९) ।
युरोपियनहरुले सोह्रौं शताब्दीदेखिनै आयुर्वेदिक औषधीहरुको बारेमा जानकारी पाउन थाले र उक्त जानकारीलाई लिपिबद्द गर्न पनि सुरु गरे । यही समयबाटै युरोपियनहरुले नै भारतमा नयाँ बोटबिरुवाहरु बाहिरी विश्वबाट ल्याएर रोप्न थाले । विशेष गरेर उनीहरुका दक्षिण अमेरिकी उपनिवेशबाट । गोलभेंडा जस्ता हाल बहुप्रचलित तरकारी यही समयमा दक्षिण एसियामा परिचित भए । पछि सन् सत्रौं शताब्दीको सुरुवातमा आलुको प्रवेश भयो । इशाको उन्नाइसौं शदीमा लेखिएको आयुर्वेदिक ग्रन्थ, ‘शालिग्रामनिघण्टुभूषण’, भन्ने ग्रन्थबाट पनि यसबारेमा धेरै कुराहरु थाहा पाउन सकिन्छ भनेर म्यूलेनबेल्ड्ले आफ्नो लेखमा चर्चा गरेका छन् (हेर्नुस्, द मेनी फेसेस् अब् आयुर्वेद १९९५, जर्नल् अब् दि यूरोपियन् आयुर्वेदिक सोसाइटी, ठेली ४, पेज नं. ८–९) ।
त्यसैगरी अर्को ठूलो मेडिकल इन्साइक्लोपेडिया जुन उन्नाइसौं शदीमै लेखिएको थियो, ‘बृहन्निघन्टुरत्नाकर’को अध्ययनबाट पनि के कस्ता नयाँ रोग तथा औषधिहरु थपिए भनेर थाहा पाउन सकिन्छ ।
आयुर्वेदीय स्वास्थ्य प्रणालीमा, विशेषतः आयुर्वेदिक पुस्तकहरुमा युरोपियनहरुको सम्पर्कबाट अन्य धेरै विषयसँग सम्बन्धित जानकारीहरु थपिएका छन् । गोविन्ददासकृत ‘भैषज्यरत्नावली’ भन्ने अठारौं शताब्दीमा लेखिएको पुस्तकमा धेरै नयाँ रोगहरुको चर्चा गरिएको छ ।
- विशेषगरेर बेलायती साम्राज्यको राजधानी कलकत्ता अनि बंगालको अन्य धेरै भागमा वैद्यहरुले बहस नै सृष्टी गरेका थिए । नेपालको सवालमा भने यस्तो बहस भएको थियो कि थिएन भनेर यकिनका साथ भन्न सकिन्न ।
त्यसैगरी उन्नाइसौं शताब्दीमा कृष्णरामद्वारा रचित ‘सिद्धभेषजमणिमाला ’र बिनोद लाल सेनरचित ‘आयुर्वेदविज्ञान ’जस्ता ग्रन्थहरु पनि पश्चिमा शरीर रचना अर्थात् एनाटोमी र शरीर विज्ञान वा फिजीओलोजीका धेरै वैचारिक स्रोतहरुबाट प्रभावित भएका छन् । यसको बारेमा छुट्टै अर्को कुनै आलेखमा अलिक व्याख्या गरिनेछ ।
म्यूलेनबेल्ड्कै शब्द सापटी लिंदा उन्नाइसौं शताब्दी आयुर्वेद र यसको व्यवसायीकरणको ‘पुनर्उद्धार’ को युग हो । चार्ल्स लेज्ली, जो एशियाली स्वास्थ्य इतिहासका विद्वान् थिए, उनको भनाइमा उन्नाइशौं शताब्दीबाटै आयुर्वेदको यात्रा पुनः संशोधितीकरणको मार्गमा मोडियो (हेर्नुस्, लेज्ली, चार्ल्स, सम्पादन, १९७६, एशियन मेडिकल सिस्टम्स् : ए कम्पेरटिभ् स्टडी, पें नं . १–१७० । तर महत्त्वपूर्ण प्रश्न के पनि हो भने कस्तो किसिमको आयुर्वेदको सुरुवात भयो भन्ने बारेमा भने विद्वान्हरुका आआफ्नै मत मतान्तर रहेको पाइन्छ ।
एकातिर शास्त्रीय संहिताहरु जस्तै चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टाङ्गहृदयसंहिताको परिधिमा मात्रै रहेर उपचार गर्ने वा नयाँ विषयवस्तु जस्तै पश्चिमा स्वास्थ्य पद्दतिलाई पनि सनावेश गर्ने भन्नेमा पनि वैद्य समुदायमा मत मतान्तर सुरु भैसकेको थियो उन्नाइसौं शदको अन्त्यतिरै । विशेषगरेर बेलायती साम्राज्यको राजधानी कलकत्ता अनि बंगालको अन्य धेरै भागमा वैद्यहरुले बहस नै सृष्टी गरेका थिए । नेपालको सवालमा भने यस्तो बहस भएको थियो कि थिएन भनेर यकिनका साथ भन्न सकिन्न । यस बारेमा आगामी दिनमा ठोस अध्ययन अनुसन्धान भएमा थप जानकारी प्राप्त गर्न सजिलो हुनेछ ।
आधुनिक स्वास्थ्यप्रणालीले नेपालमा धेरै पछि मात्रै व्यापकता पाएको सन्दर्भमा आयुर्वेदीय उपचार पद्दति र आधुनिक उपचार पद्दतिबीच धेरै खटपट नहुनु स्वाभाविकै हो । आधुनिक उपचार पद्दति सँगसँगै आयुर्वेदिक पद्दति पनि अगाडि बढेको थियो भन्ने कुरा इतिहासका विभिन्न कालखण्डमा देख्न सकिन्छ ।
आयुर्वेदिक पद्दतिमा आधुनिक पद्दतिको धेरै छापहरु पर्दै गएको कुरालाई नकार्न सकिदैन । धेरै मानिसहरु भारतमा बेलायती उपनिवेशकालीन समयमा आयुर्वेदले अधोगति लियो, नाशै हुन लागेको थियो भन्ने दावा गर्दछन् । तर अर्कोतर्फ, आयुर्वेदको पद्दतिगत अध्ययन अनि अनिसन्धानको सुरुवात यही समयमा भएको थियो ।
- भारतमा आयुर्वेदको औपचारिक कलेजहरु खोलिनु अनि पश्चिमा पद्दतिहरु पनि समाविष्ट गरिनुबाट के कुरा प्रष्ट हुन्छ भने आयुर्वेद र पश्चिमा पद्दति सहयात्रा गरिरहेको छ ।
चरकसंहिता जस्ता प्रमुख आयुर्वेदीय संहिताहरुमाथि प्रमुख टीका यही समयमा लेखिएको थियो । बंगालबासी, गङ्गाधर, जो सन् १७८९ जन्मिएका थिए, उनले चरकसंहिताको एक प्रमुख टीका लेखेका छन् । बंगालमा आयुर्वेदिक कलेजहरुको स्थापना पनि यही समयमा सुरु भएको थियो । रमाइलो पक्ष के पनि हो भने उपचार पद्दतिमा जति नै नवीनता थपिएपनि आयुर्वेदको आधारभूत सैद्धान्तिक आधार त्रिदोष सिद्धान्तमा अडिएर उपचार पद्दति त्यो समयसम्म पनि अटुट रूपमा चलिरहेकै थियो ।
रगत जाँच गर्ने, दिसा–पिसाब जाँच गर्ने र उन्नाइसौं शदीको अन्त्यतिर सुरु भएको एक्स् रे लगायत अन्य ल्याब सम्बन्धी जाँचहरुलाई आयुर्वेदीय उपचार पद्दतिमा समाविष्ट गराइनु आयुर्वेदिक र पश्चिमा उपचार पद्दति बीचको संयोजन हो । भारतमा आयुर्वेदको औपचारिक कलेजहरु खोलिनु अनि पश्चिमा पद्दतिहरु पनि समाविष्ट गरिनुबाट के कुरा प्रष्ट हुन्छ भने आयुर्वेद र पश्चिमा पद्दति सहयात्रा गरिरहेको छ ।
नेपालमा पनि नरदेवीमा आयुर्वेदको औपचारिक अध्ययन अनि त्यो भन्दा धेरै नै अगाडि राणाकालमा सिंहदरबार वैद्यखानाको स्थापना लगायत अन्य औपचारिक अनि पद्दतिगत कार्यहरुबाट पनि के पुष्टि हुन्छ भने आयुर्वेद स्थिर थिएन, चलायमान थियो र छ पनि । शास्त्रीय आयुर्वेदले पनि वैदिक ज्ञान तथा बौद्ध दर्शनका पाली भाषाका बताइएका धेरै कुराहरुको सारलाई पक्डेर अगाडि बढेको थियो ।
सन् ११०० पछिको समयमा पनि रसायन शास्त्र लगायतको व्यापकता अनि नाडी परीक्षण जस्ता नयाँ प्रयोग भएका थिए । नयाँ नयाँ रोगहरुको पहिचान अनि नवीन औषधिीरुको प्रयोग बढ्दै गएको अनि त्यस्ता नवीन ज्ञानहरुलाई अभिलेखीकरण पनि गरिदैं थियो भन्ने कुराको प्रमाण विभिन्न समयमा लेखिएका पुस्तकहरुबाट पाइन्छ ।