दशैंले छपक्कै छोप्यो । जमरा राखिसकियो । केही दिनमै फूलपाती, अष्टमी, नवमी, दशमी र एकादशी हुँदै पूर्णिमा आउँछ । र दशैं सकिन्छ । हरवर्ष उसैगरी दशैं आउँछ, सकिन्छ । खासमा सकिनकै लागि आउँछ दशैं ।
तर दशैंसँगै धेरै कुरा आउँछ । र केही केही कहिल्यै नसकिने कुराहरु छाडेर जान्छ । त्यही दशैंले छाडेर जाने केही सवालमाथिको प्रश्न हो यो ।
मौसम घमाइलो छ, रमाइलो छ । फूलहरु फुलेका छन् । नदीहरु सङ्लिएका छन् । खेतमा बाली झुलेका छन् । तर मौसम दशैं आएको भएर यस्तो भएको होइन । यो मौसममा चाहिँ दशैं आएको हो ।
दशैं आएको पनि होइन, बनाइएको हो । यो परम्परा निर्माण गरिएको हो । कसले, किन यो परम्परा बनायो ? यसको धार्मिक, सामाजिक तथा साँस्कृतिक पाटो बहसयोग्य छ ।
मौसम मात्रै रमाइलो भएर के गर्नु ? मान्छेको मन दुःखेको छ । अभावले गिजोलेको छ, मनस्थिति । आतंकले ग्रस्त छ, मानसिकता । अभाव र आतंकबीच पनि दशैंलाई जबरजस्त उल्लासमय देखाउन बनावटी हाँसो हाँस्न बाध्य मान्छेको मन कसले बुझेको छ र ? हो, दशैंले दुखाएको मन अनि दशैंका नाममा भइरहेको र हुने ‘कुमान्यता’मा केन्द्रित छ, आजको एन्टी करेन्ट ।
जब भित्ताकी देवीले गिज्याउँछिन्
मेरी आमा, श्रीमती र बुहारीलाई दशैं आएको कुराले खासै खुसी दिँदैन, जति बा, म, भाइ र छोराछोरीलाई दिन्छ । किनकि, दशैं आउनु भनेको उहाँहरुको काम बढ्नु हो ।
- उनको शारीरिक सौन्दर्यलाई केन्द्रमा राखेर राम र रावणबीच द्वन्द्व हुन्छ । रावणले गरेको प्रेमको अवमूल्यन हुन्छ । रावणले अपराध गर्दैन, युद्ध गर्छ । युद्धमा रामले जित्छ ।
गाउँका प्रायः पुरुषहरु दशैं आएपछि तास खेल्छन् । पहिला रक्सीले नपिउनेले पनि पिउछन् । पुरुषहरुले घरको काम गर्दैनन् । पकाईतुल्याई, सरसफाई, पाहुनापासाको मेलोमेसो मिलाउने सबै काम महिलाले नै गर्छन्, गर्नुपर्छ । त्यसैले मेरो घरमा मात्रै होइन, गाउँ र आमसमाजमा नै दशैंले महिलालाई बढी दुःख दिन्छ, सताउँछ ।
तर, नवदुर्गा भवानीको पूजा हुन्छ । ‘महिला देवता’को फोटो पूजा हुन्छ, तर घरकी महिलालाई यातना मात्रै दिइन्छ । पूजा गर्ने अधिकार पुरुषको मात्रै हुन्छ । महिलाले त ‘पूजाघर’ छुनै हुँदैन रे । स्वभाविक प्रजनन प्रक्रियाअन्तर्गत महिनावारी भएकी महिला त पूजाकोठा भएको घरमै छिर्न हुँदैन रे । घरकी महिलामाथि त्यतिधेरै विभेद गरेको देखेर तस्वीरकी ‘महिला देउता’ले कति खिसी गर्लिन् !
कसरी असत्यमाथि सत्यको जित भयो ?
धर्मबाट प्रेरित जुनकुनै मान्यता, परम्परा वा सँस्कार विभेदकारी छ । किनकि धर्मको निर्माण नै विभेदका लागि भएको हो । एउटा सीमित वर्गले ठूलो वर्गमाथि सधैंभरी शासन गरिरहने नियतका साथ धर्मको निर्माण भएको हो । अहिले धर्मबारे धेरैकुरा नगरौं । बरु त्यसबारे बुझ्न यो पढौंः धर्मविरुद्ध ११ सय शब्द ।
- तर, शासकहरुले आफूअनुकुल बनाउन धर्मलाई जहिल्यै हतियार बनाउँछन् । त्यो पुरुषसत्ता, बाहुनसत्ता वा हिन्दूसत्ता नै किन नहोस् !
धर्मका नाममा विभिन्न मिथहरु बनाइएको छ । विभिन्न प्लटमा कथाहरु लेखिएको छ । कोहीकोहीले दशैंलाई ‘असत्यमाथि सत्यको विजय पर्व’का रुपमा व्यख्या गर्छन् । उनीहरुले भन्ने कथा चाहिँ राम, सीता र रावणको हो । रामले रवणमाथि विजय प्रप्त गरेको कथामा आधारित छ, उक्त मान्यता ।
तर त्यहाँ नारीलाई लोग्नेभक्त हुन प्रेरित गरिएको छ । सीतालाई पतिव्रता नारीका रुपमा चित्रण गरिएको छ । उनको शारीरिक सौन्दर्यलाई केन्द्रमा राखेर राम र रावणबीच द्वन्द्व हुन्छ । रावणले गरेको प्रेमको अवमूल्यन हुन्छ । रावणले अपराध गर्दैन, युद्ध गर्छ । युद्धमा रामले जित्छ । त्यहीं मिथको आधारमा दशैंलाई ‘असत्यमाथि सत्यको विजय उत्सव’ भनिएको छ ।
उक्तकथामा नारीलाई साधनको रुपमा मात्रै व्याख्या गरिएको छ । पुरुषभक्त हुनु नै नारीको महानता हो जसरी कथा बनाइएको छ । अनि त्यही कथालाई प्रेरक वा मानक मानेर हामी दशैं मनाइरहेका छौं । त्यतिधेरै नारीविरोधी मान्यतालाई स्वीकारेर अहिलेको पुस्ताले किन दशैं मनाउने ?
दशैं र सत्ताको कनेक्सन
कसैकसैले दशैंलाई इतिहाससँग पनि जोडेर हेर्ने गरेका छन् । इतिहाससँग नै जोडे पनि धार्मिक मान्यता भने कायम राखिएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले सपनामा देवीको दर्शन पाएको दावी गरेपछि राज्य विस्तार सुरु गरे । उनले राज्य विस्तारसँगै दशैंलाई फैलाए ।
- भन्न पनि ‘हिन्दूहरुको महान चाड’ भनिन्छ । तर किन अरु जात तथा धर्मका मान्छेलाई जबरजस्त दशैं मनाउन लगाइन्छ ?
शासकहरुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशीर्वादसँग जोडेर जनतामा भ्रम फैलाउँछन् । त्यही गरे, पृथ्वीनारायणले । दशैंको उत्पतिबारे कुरा गर्दा लामो होला । तर, शासकहरुले आफूअनुकुल बनाउन धर्मलाई जहिल्यै हतियार बनाउँछन् । त्यो पुरुषसत्ता, बाहुनसत्ता वा हिन्दूसत्ता नै किन नहोस् !
टीका लगाउने प्रथा नै स्थानीय शासनसत्तासँग जोडिएको छ । यसको लामो इतिहास छ । राजाले प्रजालाई लगाइदिने, आशीर्वाद दिने, उसको निगाहमा चल्नुपर्ने लगायत थुप्रै मान्यता जोडिएको छ ।
श्रीमानले श्रीमतीलाई टीका लगाइदिने, आशीर्वाद दिने, श्रीमतीले खुट्टा ढोगेर श्रीमानको आशीर्वाद ग्रहण गर्ने चलन चलाइएको छ । यसले श्रीमतीभन्दा श्रीमान ठूलो हो भन्ने संकेत दिन्छ । बाआमा भन्दा छोरीछोरीलाई सानो मान्नु आदर्शवादी दृष्ट्रिकोणमा स्वभाविक होला । तर, आममहिलालाई पुरुषभन्दा कमजोर सावित गर्न यस्ता चलन चलाइएको छन् । जुन गलत हो ।
हत्यारा पर्व
जैविक जीवनचक्रमा एउटा जिवले अर्को जिवको हत्या गर्नु, सेवन गर्नु स्वभाविक हो । सर्पले मुसा, बाघले मृग, चीलले चल्ला खानै पर्छ । नत्र जैविक चक्र राम्रोसित चल्न सक्दैन । तर, मान्छेको निर्माण अरु जिवको हत्या गरेर खाने गरी भएको होइन जस्तो लाग्छ ।
मान्छे जति प्रकृतिविरोधी अरु जिव छैन । त्यसैले मान्छेले प्रकृतिलाई नै चुनौती दिने दुष्प्रयास गरिरहन्छ । त्यसको एउटा पाटो हो, मासु खाने सँस्कार । मान्छेको शरीरिक संरचना नै जिवको हत्या गरेर खाने खालको छैन । यद्यपि, कसैलाई मासु खानै मन लाग्छ भने खाए भयो । जे को खान मन लाग्छ, खाँदा हुन्छ । तर, धार्मिक मान्यताबाट चलेको दशैंलाई नै किन ‘मासु खाने पर्व’का रुपमा लिइयो ?
धर्मले हत्या गर्न नसिकाउन पर्ने हो । तर देउतालाई खुसी पार्न विभिन्न जनावरको बलि दिने चलन छ, दशैंमा । अनि देउतालाई रगत चढाएर मान्छेले मासु लुस्छ । किन धर्मले पर्वका नाममा मान्छेलाई हत्यारा बनाइरहेछ ?
किन लाद्नु सबैलाई ?
सबै दृष्टान्त, कथन र मान्यताले दशैंलाई हिन्दू धर्मावलम्बीको पर्व भएको पुष्टि गर्छ । भन्न पनि ‘हिन्दूहरुको महान चाड’ भनिन्छ । तर किन अरु जात तथा धर्मका मान्छेलाई जबरजस्त दशैं मनाउन लगाइन्छ ?
२०४६ सालको आन्दोलनपछि केही जनजातिसँग सम्बन्धित संगठनहरुले ‘दशैं बहिष्कार अभियान’ नै चलाए । जुन स्वभाविक थियो । मान्नेले मान्न पायो, नमान्नेले नमान्न पनि पायो ! तर लाद्नु त भएन नि ।
- आशिर्वाद मान्यता मात्रै भए पनि धर्मकथाका पात्र जस्तो हुनू भनेर होइन, कर्मशील, स्वाभिमानी, सुखी र खुसी हुनका लागि दिइयोस् ।
हिजो पृथ्वीनारायण शाहले लादे । त्यसपछि लादेको लाद्यै भयो । दशैंकै नाममा १५ दिन विदा दिइन्छ । हिजो राजाले प्रजालाई टीका लगाएर आशीर्वाद दिन्थे, आज राष्ट्रपतिले दिन्छन् । उच्चपदस्थहरुले विभिन्न धार्मिक पीठमा गएर पूजा गर्नैपर्ने नियम बनाइएको छ । भोलि कुनै दलित, जनजाति वा गैरहिन्दू देशको राष्ट्रप्रमुख हुने कल्पनासमेत गरेको छैन, व्यवस्थाले ।
मान्नेलाई मान्न छुट दिएर नमान्नेले अघिपछि जस्तै औसत दैनिकी, काम गर्न पाउने वातावरण बनाउनु पर्छ । अरु जात तथा धर्मका पर्वलाई एकदिन विदा, त्यो पनि त्यही जातलाई मात्रै ! तर दशैंलाई किन यतिधेरै मान्यता दिइयो ? प्रश्न उठ्नु स्वभाविक हो ।
भड्किलो शैली, मारमा गरिब
हाम्रा अधिकांश परम्परा पूँजीवादी व्यवस्था तथा मान्यताबाट प्रेरित छ । आफूसँग नभए पनि देखाउनकै लागि धेरै खर्च गर्नुपर्ने गरी धारणा निर्माण गराइएको छ । ऋणै गरेर भए पनि दशैंलाई भड्किलो बनाउँदा धेरैलाई समस्या पर्ने गरेको छ । दशैंको ऋण तिर्न नसकेर आत्महत्या गरेको समाचारसम्म सार्वजनिक हुने गरेको छ ।
पूँजीपतिको व्यपार फस्टाइदिन हामीले नभइनभई अनेक खर्च गर्नुपरेको छ । त्यो कपडा, अरु सामग्री वा जे सुकैको व्यपार किन नहोस् ? त्यसले पूँजीपतिलाई मालामाल बनाउँछ, गरिबलाई रुवाउँछ ।
आर्शिवादमाथि नै प्रश्न
दशैंमा दिइने आशिर्वादमाथि थुप्रै प्रश्न छन् । त्यसमाथि छुट्टै एउटा आलेख तयार हुनसक्छ । ‘धार्मिक कथाका पात्र जस्तै हुनू’ भनेर दिइने आशिर्वादमा कुनै तुक छैन । काम गर्न, सिर्जना गर्न, खोजी गर्न निषेध गर्ने त्यस्ता आशिर्वादको पछि लागेर हुन्न ।
हुन त आशिर्वाद दिएर केही हुन्न । त्यो एउटा मान्यता हो । वर्सेनी, सयौंले आशिर्वाद दिए पनि श्रम वा सिर्जना नगरी कसैको जीवन सुखी, खुसी भएको छैन । मुखले ‘राम्रो होस्’ भन्दै नराम्रो चाहने पनि धेरै छन् । त्यसैले अरुले चाहँदैमा, आशिर्वाद दिँदैमा वा श्राप गर्दैमा भइहाल्ने केही होइन ।
आशिर्वाद मान्यता मात्रै भए पनि धर्मकथाका पात्र जस्तो हुनू भनेर होइन, कर्मशील, स्वाभिमानी, सुखी र खुसी हुनका लागि दिइयोस् ।
सामाजिक सद्भावका लागि मनाऔं
यसको अर्थ यो होइन कि, दशैं नै नमनाउँ ! यसलाई रमणीय मौसममा मनाइने एक सामाजिक सद्भावको पर्वका रुपमा ग्रहण गरौं । आपसमा भातृत्व बढाउने र प्रकृतिप्रेमको पर्वका रुपमा लिऔं ।
जमराले जनस्वास्थ्यमा फाइदा गर्नुलाई धार्मिक मान्यतासँग जोडेर भद्दा नबनाऔं । कुटो, कोदालो पूजा गर्ने विषयलाई देउतासित होइन, कृषिसित जोडेर हेरौं ।
बुझेर, चेतनासहित भव्यसित दशैं मनाऔं । दशैंको शुभकामना ।