नेपाली भान्छामा सयौं वर्षदेखि अविच्छिन्न रूपमा प्रयोग हुंदै आएका मसलामध्ये बेसार एक हो । ‘चीज एक गुण अनेक’ भनेझैं बेसार बहुगुणी मसला हो । भान्छा नै सबैभन्दा पहिलो अस्पताल हो र यसै भान्छामा विशेष प्रयोग हुने बेसार अनेक गुणले भरिपूर्ण, स्वास्थ्यको लागि हितकारी अति उपयोगी औषधी हो ।
आयुर्वेदिक ग्रन्थमा हरिद्राको नामले चिनिने यस वनस्पतीको प्रयोग हजारौं वर्ष देखिनै औषधीय प्रयोजनका लागि गरिदैं आइएको थियो भन्ने कुराको प्रमाण दुई हजार वर्षभन्दा पनि अगाडि नै लिखित, संकलित र सम्पादित चरकसंहिता भन्ने ग्रन्थमा यसको बहुगुणको चर्चा भएबाट पनि पुष्टि हुन्छ । कोभिड–१९ कै कहरमा पनि बेसार एक चर्चित प्रसंग बनेको थियो र छ भनेर भन्नु नपर्ला । तर यस आलेख त्यतातिर निर्दिष्ट नभई बेसारको हितकारी गुणहरुको चर्चामा केन्द्रीत हुनेछ र यहाँ बेसारका अनेक फाइदाहरुमध्ये प्रमुख नौ फाइदाका बारेमा संक्षिप्तमा चर्चा गरिन्छ ।
संस्कृत शास्त्रका अनेक ग्रन्थहरुमा वर्णित बेसारलाई ४६ विभिन्न नामले चिनिन्छ । यसबाट पनि के पुष्टि हुन्छ भने यो बहुपयोगी औषधी हो । महाभारत जस्तो संसारकै सबैभन्दा विशाल महाकाव्यमा पनि बेसारका बारेमा उल्लेख गरिएको पाइन्छ । चरकसंहिता, सुश्रुतसंहिता, अष्टांङ्गहृदयसंहिता जस्ता आयुर्वेदिक शास्त्रीय ग्रन्थहरुले त मुक्तकण्ठले नै यस औषधीको व्यापक चर्चा गरेका छन् ।
दक्षिण एशियाली मुलुकका अतिरिक्त पूर्वी एसियाली मुलुकहरु चीन तथा अन्य दक्षिण पूर्वी एशियाली मुलुकहरु थाइल्याण्ड आदि देशहरुमा पनि सदियौंदेखि विभिन्न औषधिको रूपमा बेसारका अनेक प्रजातिहरु प्रचलनमा थिए र छन् । आयुर्वेदको प्रभाव अनि प्रचारसंगै यस औषधिको व्यापकतामा पनि वृद्धि भएको थियो र छ भनेर यकिनका साथ भन्न सकिने आधारहरु छन् । बेसारको पेटेन्ट लिने प्रसंगमा अनेक झमलाहरु पनि भए । त्यसको बारेमा अर्को कुनै आलेखमा चर्चा गरिनेछ ।
- वास्तवमा सरकारले गर्ने भनेको आन्तरिक उत्पादनको सम्भावनाको खोजी तथा स्वास्थ्य नीतिमा त्यसको प्राथमिकताका प्रस्तावहरु संसदमा पुर्याउनुपर्ने थियो, एकोहोरो बेसार बखान होइन ।
पश्चिमा मुलुकमा आजकल बेसारलाई अनेक रूप दिएर प्रयोग गरिदैं आइएको पाइन्छ । पश्चिमा मुलुक, विशेष गरेर संयुक्त राज्य अमेरिका अनि क्यानडामा त बेसारको प्रयोग त झन् एक किसिमले फेसनेवल भएको छ । गोल्डेन मिल्क भन्दै दुध र बेसारसँगै उमालेर पिउने, मदिराको ककटेलको विकल्पमा पिइने मकटेलमा बेसार पानी पिइने कुरा ‘कूल’ बन्न मात्रै नभई विशेष गरेर सन् २०१५ पछि त मदिराको सट्टा बेसार पानी पिउने प्रसंग भद्र भलाद्मी बन्न र विशेष गरेर स्वास्थ्यप्रति सचेतन भएको देखाउन पनि गरिदै आएको प्रसंग आलेखाकार स्वयंले पनि अनुभूत गरेको हो ।
सन् २०१७ को क्यानडाली आयातको तथ्यांक हेर्ने हो भने क्यानडाले विभिन्न देशहरुबाट ६० लाख क्यानेडियन डलर अर्थात् ५३ करोड भन्दा बढी नेपाली रुपैयाँको बेसार आयात गरेको रहेछ । त्यसैगरी संयुक्त राज्य अमेरिकाले सन् २०१७ मा तीन करोड ५० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् चार अरब भन्दा बढी नेपाली रुपैयाँको बेसार आयात गरेको अवस्था रहेछ । यसरी यी देशहरुले आयात गर्ने बेसारको मात्रा हरेक वर्ष तीव्रतर रूपमा वृद्धि भैरहेको छ ।
यी देशहरुमा एसियन जनसंख्यामा वृद्दि अनि औषधिको रूपमा प्रयोग अनि यसको हितकारी गुणहरुको बारेमा विभिन्न अध्ययनहरुले देखाएको प्रमाण आदि कारणहरुले गर्दा पनि बेसार धेरैभन्दा धेरै क्यानडाली र अमेरिकीको भान्साको एक प्रमुख मसला बनेको छ ।
- मुसाहरुमा गरिएको परीक्षणमा बेसार दिइएको मुसाहरुको तौल नबढेको तर बेसार नखुवाइएको मुसाको तौल बढेको भनेर उक्त अध्ययनले देखाएको छ ।
आंकडालाई नियालेर हेर्ने हो भने प्रमुख निर्यातकर्ता मुलुक भारत देखिन्छ । दुर्भाग्य नेपालमा बेसारको उत्पादनको सम्भाव्यता ज्यादै नै धेरै भएको अनि नेपाली हावापानी बेसार उत्पादनका लागि ज्यादै उत्कृष्ट हुँदाहुँदै पनि उत्पादन कम हुनु अनि निर्यात नहुनु ज्यादै निराशाजनक छ । निर्यात भए पनि कौडीको भाउमा भारतमा बिक्री हुनु अनि भारतले सोही नेपाली उत्पादनलाई आफ्नो भनी यूरोप अनि अमेरिकी मुलुकहरुमा ज्यादै नै महंगो मूल्यमा बेचेर मुनाफा कमाइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा वलीले कोभिड महामारीको समयमा बेसार र बेसारपानीको लामै चर्चा गरे । जुन चर्चा उनले सामान्य पत्रकार सम्मेलनदेखि संसदसम्मै गर्न भ्याए । प्रधानमन्त्रीले बेसार वयान गर्नुलाई नकारात्मक लिन जरुरी छैन, भलै आधिकारिक विज्ञ वा अनुसन्धानलाई उदृत गरिएको भए अर्थपुर्ण हुने थियो ।
तर, बेसारको महिमा संसदमा समेत अरुलाई अवाक र वाक्कै हुनेगरी बखान गर्ने प्रधानमन्त्री र सरकारले बेसारलगायत जडिबुटी तथा समग्र आयुर्वेदको अध्ययन, अनुसन्धान, संरक्षण, उत्पादन र सम्वद्र्धनका लागि कति प्राथमिकतामा राखे, कति बजेट छुट्याए र नीति निर्माण तहमा ती कुराको कति वास्ता गरे भन्ने प्रश्नहरु मूल कुरा हुन् । वास्तवमा सरकारले गर्ने भनेको आन्तरिक उत्पादनको सम्भावनाको खोजी तथा स्वास्थ्य नीतिमा त्यसको प्राथमिकताका प्रस्तावहरु संसदमा पुर्याउनुपर्ने थियो, एकोहोरो बेसार बखान होइन ।
बेसार मात्रै होइन नेपाली अदुवाको नियति पनि यस्तै रहेको छ । अदुवाको नियतिको कथा कुनै अर्को आलेखमा ।
बेसारका नौ प्रमुख फाइदा
१. बेसारले हाम्रो शारीरिक तौल घटाउन मद्दत गर्दछ
अमेरिकाको टुप्थ विश्वविद्यालयले सन् २००९ मा गरेको एक अध्ययनले के देखाएको छ भने नियमित बेसारको प्रयोगले मोटोपन ल्याउने तन्तुको वृद्धिलाई रोक्छ । दुई समूहमा विभाजित मुसाहरुमा गरिएको परीक्षणमा बेसार दिइएको मुसाहरुको तौल नबढेको तर बेसार नखुवाइएको मुसाको तौल बढेको भनेर उक्त अध्ययनले देखाएको छ । यसको मतलब बेसार एक्लैले तौल बढ्न रोकेको भनेर ठ्याक्कै भन्न नसकिए पनि यो एक प्रमुख कारण हो भनेर उक्त अध्ययनले प्रष्ट पारेको छ । थप अनुसन्धानहरु जारी छन् । भविष्यमा यसबारेमा थप नयाँ जानकारी आउने नै छ ।
२. बाथ रोगीका लागी लाभकारी
बेसारमा अनेक गुणका अतिरिक्त यसमा प्रमुखतया एन्टी अक्सिडेण्ट र एन्टी इन्फ्लामेटोरी गुणहरु हुन्छ । अनेक अनुसन्धानहरुले के देखाएका छन् भने बेसारमा हुने गुणले हड्डीको जोर्नी दुख्ने, पोल्ने अनि सुन्निने समस्यालाई निक्कै हदसम्म निको पार्छ । अमेरिकाको बाथ रोग सम्बन्धी प्रमुख संस्था अर्थ्राटिस् फाउन्डेसनले त झन् एक कदम अगाडि बढेर के समेत सल्लाह दिएको छ भने बाथका रोगीले हरेक दिन ४०० मिलिग्रामदेखि ६०० मिलिग्राम बेसार प्रयोग गरेमा निक्कै नै लाभकारी हुनेछ ।
३. मुड परिवर्तनलाई स्थिर गर्ने
बेसारमा एन्टी इन्फ्लामेटोरी गुणहरु हुन्छ भन्ने कुरा माथि नै बताइयो । सन् २०१४ मा गरिएको एक अध्ययनमा ५६ जना डिप्रेसन रोगले पीडित मानिसहरुमा गरिएको अनुसन्धानबाट के कुरा पत्ता लाग्यो भने दैनिक दुईपटक ५०० मिलिग्राम बेसार आठ हप्तासम्म प्रयोग गर्दा मूड सम्बन्धी रोग हल्का भएको र ती मानिसहरुलाई धेरै नै हितकारी भएको पाइयो । बेसारको सही प्रयोगबाट डिप्रेसनको प्रारम्भिक लक्षणहरुसंग सामना गर्न सजिलो हुने रहेछ भन्ने कुरा पनि विभिन्न अध्ययनले देखाएको छ । आजकल बेसारको ट्याबलेट एन्टी डिप्रेस्याण्टको रूपमा पनि अमेरिका अनि क्यानडामा प्रयोग गरिएको पाइन्छ ।
४. रगतमा चीनी ज्यादा देखिएमा बेसार सहयोगी
विश्व स्वास्थ्य संगठनको सन् २०१६ को रिपोर्ट अनुसार नेपालको कूल जनसंख्याको ९÷१५ मानिसहरु मधुमेह अर्थात् डाइबेटिजबाट प्रताडित छन् । त्यसैगरी मधुमेह जस्तै अन्य रोगहरु ज्यादा शारीरिक तौल, मोटोपन र शारीरिक असक्रियाता वा अल्छिपनाको आंकडा क्रमशः १६/७५ , २/९५ र ३/३५ रहेको छ । यो एक भयावह अवस्था हो ।
सन् २०१८ मा गरिएको एक अध्ययनले के देखाएको छ भने बेसारले हाइपोग्लाइकेमिक एजेन्ट जसरी काम गर्छ अर्थात् यसले टाइप टु डाइबेटिज भएका मानिसको रगतमा ग्लुकोजको लेभल नियन्त्रण गर्न सहयोग गर्छ । जसले अन्त्यमा टाइप टु डाइबेटिजलाई भयावह हुनबाट रोक्न सहयोग गर्छ । तसर्थ बेसारको समुचित उपभोग लाभकारी सिद्ध छ । हुन त यो प्रारम्भिक नतिजा हो । थप अनुसन्धानको खाँचो त छँदै छ ।
५. बेसारले अल्जाइमर रोगलाई रोक्न मद्दत गर्छ
केही अध्ययनहरुले के बताएका छन् भने यूरोप र उत्तर अमेरिकीहरु भन्दा दक्षिण एसियाली देशका बासिन्दाहरुमा अल्जाइमर रोगको समस्या कम छ । भारतको उदाहरण दिंदै एक अध्ययनले के प्रस्तुत गर्दछ भने त्यसको धेरै कारणहरुमध्ये उक्त देशका बासिन्दाहरुले नियमित जस्तै प्रयोग गर्ने बेसारको कारणले पनि सो रोगबाट पीडित कम हुनसक्छन् । आयुर्वेदीय स्वास्थ्य प्रणालीको सदियौंदेखिको प्रचलन अनि हरेक भान्छामा प्रयोग हुने बेसारका हितकारी गुण छन् । हुन त यस प्रस्तुतिमाथि थप अध्ययन अनि अनुसन्धानको जरुरी छ । यद्यपि बेसारमा हुने न्युरोनको क्षतिलाई रोक्ने गुणको कारणले अल्जाइमर रोग कम लागेको पनि हुनसक्छ भन्ने सन् २०१० मा गरिएको अर्को अध्ययनले बताएको छ ।
६. बेसारले क्यान्सर रोक्न मद्दत गर्नसक्छ
इन्फ्लामेसनले क्यान्सरको वृद्धिलाई बढाउन सहयोग गर्छ । आजसम्मको अनुसन्धानले के देखाएको छ भने बेसारको समुचित प्रयोगबाट इन्फ्लामेसन रोक्न सहयोगी सिद्ध हुन्छ । यसमा हुने एन्टी अक्सिडेन्ट गुणले गर्दा सुन्निने र जलन हुने क्रम कम भई क्यान्सरको फैलावटमा कमी आउनसक्छ । सन् २०१४ मा भएको एक अध्ययनले के देखाएको छ भने बेसारको प्रयोगबाट धेरै जनावरमा विशेष गरेर आमाशय, कोलोन र कलेजोमा भएको ट्युमर रोकिएको खुलेको छ । उक्त अध्ययनको दावीका बारेमा थप अनुसन्धानको आवश्यकता भने अझै छ । यसबारेमा थप अनुसन्धानहरु भैरहेका छन् ।
७. बेसार पेटमा हुने गुड्गुडी, डायरिया र अरु आन्द्राको नली सम्बन्धी समस्यामा हितकारी
आमाशयमा हुने विभिन्न समस्याहरु जस्तै पेटमा गुड्गुडी, डायरिया अनि अरु समस्याहरु जस्तै ठूलो आन्द्रा, सानो आन्द्रा आदिमा हुने अप्ठ्यारोलाई सहज बनाउन बेसारले सहयोगी भूमिका निर्वाह गर्नसक्छ भनेर सन् २००४ मा प्रकाशित एक पायलट अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको उक्त अध्ययनले माथि बताइएको समस्या भएका रोगीहरुलाई आठ हप्तासम्म प्रत्येक दिन बेसारको २ वटा ट्याब्लेट खुवाइएको र त्यसबाट ती रोगीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव आएको थियो । त्यसैगरी अमेरिकन् ग्यास्ट्रोइन्टेरोलोजिकल एशोसियसनले गरेको एक अध्ययनले बेसारको प्रयोगबाट अल्सेराटिभ् कोलिटिसलाई सजिलो पार्छ भनेको छ । अल्सेराटिभ् कोलिटिस् भन्नाले कोलोन र रेक्टममा हुने इन्फ्लामेसन र अल्सर हो । अल्सर हुनबाट जोगाउन बेसारले मद्दत गर्ने देखिन्छ ।
८. बेसारले कोलेस्टोरल लेभललाई झार्न मद्दत् गर्छ
सन् २०१९ को एक अध्ययन जुन खरायोमाथि गरिएको थियो, उक्त अध्ययनबाट प्राप्त नतिजा अनुसार बेसारको समुचित प्रयोगबाट खरायोको कोलेस्टोरल लेभल झर्यो । यसैगरी मान्छेमा पनि यस्तै हुन सक्ने कुरा उक्त अध्ययनले बताएको छ । यस कुराको थप अध्ययन जरुरी छ । साथै थप अनुसन्धानहरु जारी छन् ।
९. बेसारले कार्डियोभास्कुलर रोगको जोखिमलाई कम गर्नसक्छ
विश्व स्वास्थ्य संगठनको सन् २०१८ को रिपोर्ट अनुसार प्राणघातक प्रमुख १० रोगहरु मध्य कार्डियोभास्कुर रोग एक हो । विश्व स्वासथय संगठनको सन् २०१८ कै आंकडा अनुसार कुल मृत्यु संख्याको २०/५३५ अर्थात् ३४१६७ नेपालीको मृत्यु कार्डियोभास्कुलर रोगबाट भयो । अझै सन् २०३० सम्ममा नेपालमा कुल मृत्यु संख्याको ३०५ कार्डियोभास्कुलर रोगको कारणबाट हुने अनुमान गरिएको छ । त्यसैले यो भयावह रोग हो ।
यद्यपि कार्डियोभास्कुलर रोगका अनेक कारणहरु हुनसक्छन् । इन्फ्लामेसन कार्डियोभास्कुलर रोगको लागि एक गतिलो उत्प्रेरक हो । माथि बताइए जस्तै बेसार एन्टी इन्फ्लामेटरी औषधि हो । तसर्थ बेसारले कार्डियोभास्कुलर रोगको जोखिमलाई कम गर्नसक्छ । यद्यपि, थप अध्ययन अनुसन्धानको आवश्यकता भने छ ।
आलेखाकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र हाल आयुर्वेदिक ग्रन्थको इतिहासमा अनुसन्धानरत छन् ।