बौद्ध दर्शन अनात्मावादी दर्शन हो । अर्थात् यसले आत्माको अस्तित्वलाई स्विकार्दैन । यस दर्शनका तीन आधारभूत लक्षणहरु अनित्य, दुःख र अनात्मा हुन्, जसलाई समग्रमा त्रिलक्षण भनिन्छ । अनात्माको अवधारणा त्रिलक्षणमध्ये एक हो ।
आत्माको कुरा बौद्धबाहेक अन्य सबै धर्म दर्शनको केन्द्रीय अवधारणा हो । त्यसैले यस सवालमा बौद्ध धर्म दर्शन विशिष्ट छ । आत्मालाई शाश्वत मान्नु आध्यात्मवादको मुख्य आधारभूत पक्ष हो । आत्माको स्रोत परमात्मा र परमात्मा नै ईश्वर हो भन्ने अवधारणा ईश्वरवादको रहेको छ । ईश्वरवाद आध्यात्मवादको चरम रुप हो ।
विश्वका धर्म दर्शनहरुमा बौद्ध मात्र एक हो, जसले आत्माको अस्तित्वलाई स्विकार्दैन । अर्थात्, यो नै एक मात्र अनात्मवादी हो ।
- बौद्ध धर्म दर्शनको केन्द्रीय अवधारणा अनित्यता हो, अर्थात् नित्य तत्वको अस्विकारोक्ति हो । त्यसैले पृथक चेतन तत्वको अस्तित्वलाई स्विकारे पनि यो आत्मावादी होइन ।
धिकांश धर्म दर्शनहरुले संसारको सृष्टि ईश्वरद्वारा भएको मान्छन् । तर, बौद्ध धर्म दर्शनले (यहाँ धर्मको अर्थ अङ्ग्रेजी शब्द रेलिजनले दिने अर्थ नभई वस्तु, घटना वा शिक्षा हो) यसको विपरित अवधारणा राख्दछ । अर्थात् यसले संसारको सृष्टि कुनै ईश्वरले नभई यसको सृष्टि स्वयं भएको मान्दछ । संसार सृष्टिबारे बौद्ध धर्म दर्शनसँग समान धारणा अर्को पूर्वीय धर्म दर्शन जैनले पनि राख्दछ । त्यसले पनि यो संसारको सृष्टि ईश्वरद्वारा नभई स्वयं भएको मान्दछ । तर, त्यसले आत्मा र ईश्वर दुवैको अस्तित्व भने मान्दछ । जैन धर्म दर्शनले आत्मालाई जन्म–पुनर्जन्मका चक्रहरुमा चल्ने तत्वको रुपमा मान्दछ । (जैनी, पद्मानभ, १९८०)
आत्मावादले आत्मालाई चेतनाको मूल स्रोत मान्दछ । त्यस्तै गरी यसले आत्मालाई नित्य अर्थात् अपरिवर्तनशील, स्थीर र अमर तत्वको रुपमा लिन्छ । बौद्ध धर्म दर्शनको केन्द्रीय अवधारणा अनित्यता हो, अर्थात् नित्य तत्वको अस्विकारोक्ति हो । त्यसैले पृथक चेतन तत्वको अस्तित्वलाई स्विकारे पनि यो आत्मावादी होइन । यसले चेतनाको स्रोत आत्मा होइन चित्तलाई मान्दछ । चित्त तत्व आत्मा जस्तो नित्य नभई यो पनि अनित्य भएको अवधारणा बौद्ध धर्म दर्शनको रहेको छ ।
चित्त नै आधारभूत तत्व
पाली बौद्ध त्रिपिटकमध्ये सूत्त पिटकमा मानस, विज्ञान र चित्तका कुराहरु ठाउँठाउँमा उल्लेख भएको पाइन्छ । यी तीन कुराहरुका अर्थ जोडिएको भए पनि एउटै भने होइन । चित्तकै एक रुप मानस हो भने चित्तबाट नै विज्ञान (चेतना) उत्पन्न हुन्छ । त्यसैले चित्त पुद्गल (व्यक्तिको सत्व) हो । अर्थात्, यसैले नै व्यक्तिलाई पृथक पहिचान दिएको हुन्छ । बुद्धि र विवेक चित्तकै उपज हुन् । तर, बुद्धि र विवेकले चित्तलाई बाटो देखाउन सक्छन् । धम्मपदमा भगवान बुद्ध भन्नुहुन्छ,
फन्दनं चपलं चित्तं दुरक्खं दुन्निवारयं
उजुं करोति मेधावी उसुकारो व तेजनं ।।१।।
(चित्त वर्ग, धम्मपद)
अर्थात्, जसरी वाण बनाउनेले आफ्नो वाणलाई सोझो बनाउँछ, त्यसैगरी बुद्धिमान मानिसले निरन्तर विचलित हुने, चञ्चल, मुस्किलले रक्षा गर्न सकिने र मुस्किलले निवारण गर्न सकिने चित्तलाई काबुमा राख्छ ।
- मन चित्तको एउटा रुप हो । हाम्रो मनमा कुशल वा अकुशल भावनाहरु आइरहन्छन् । वास्तवमा त्यस्ता भावनाहरुबाट निर्देशित भई नै व्यक्तिले कुशल वा अकुशल कर्महरु गर्न पुग्ने अवधारणा बौद्ध दर्शनमा रहेको छ ।
बौद्ध दर्शन अनुसार चित्तले व्यक्तिलाई आफू हुनुको महसुस गराउँदछ, तर न यो स्थिर छ न त अपरिवर्तनीय नै । ज्ञान र बुद्धिले यसलाई काबुमा राख्न वा तिखार्न सकिन्छ । त्यसैले बौद्ध दर्शनमा अविद्यालाई नष्ट गरी ज्ञान मार्गमा गएर चित्त सुद्ध गर्ने उपदेशहरु भेटिन्छन् ।
महायान बौद्ध दर्शनमा षड्पारमिता अर्थात् छ वटा काम वा कर्महरुमा पारङ्गत हासिल गर्ने कुरा उल्लेख छ । ती हुन्– दान, शिल, क्षान्ति, वीर्य, समाधि र प्रज्ञा । ती छ वटामध्ये वीर्य पारमिताले चित्तको अभ्यासलाई बुझाउँदछ । वीर्यको खास अर्थ उत्साह हो । यसको अर्थ वीरता र पराक्रम पनि हो । त्यसैले वीर्य पारमिताले चित्तलाई उत्साहका साथ, वीरताका साथ वा पराक्रम भई आफ्नो वशमा राख्ने वा कुशल कर्ममा लगाउने पारङ्गतताको अर्थ दिन्छ ।
मन चित्तको एउटा रुप हो । हाम्रो मनमा कुशल वा अकुशल भावनाहरु आइरहन्छन् । वास्तवमा त्यस्ता भावनाहरुबाट निर्देशित भई नै व्यक्तिले कुशल वा अकुशल कर्महरु गर्न पुग्ने अवधारणा बौद्ध दर्शनमा रहेको छ । त्यसैले चित्त कुशल र अकुशल भावनाको द्वन्द्वमा नै अगाडि बढ्ने बुझाई बौद्ध दर्शनमा पाइन्छ । चित्तले वोधि प्राप्त नगर्दासम्म कुशल र अकुशल भावनाहरुलाई साथै लिएर अगाडि बढ्दछ । यसको अर्थ चित्तमा कुशल र अकुशल भावनाहरु एकसाथ रहिरहेका हुन्छन्, अर्थात् तिनीहरुबीच द्वन्द्वका साथै एकता पनि कायम रहेको हुन्छ ।
कुशल भावनाले अकुशल भावनालाई पूर्ण निषेध गर्दछ भने व्यक्ति वोधि चरणमा प्रवेश गर्दछ । यो कार्यका लागि वीर्यपारमिताको अभ्यास जरुरी पर्दछ । यस अभ्यासमा भएका अकुशल भावनालाई कुशल भावनाले विस्थापन गर्ने, आइनसकेका अकुशल भावनालाई आउनै नदिने र आइनसकेका कुशल भावनालाई आउन दिने अभ्यास पर्दछ ।
बौद्ध धर्म दर्शनमा व्यक्तिलाई पृथक चित्तको रुपमा चित्रण गरिन्छ । यो चित्त त्यसले नित्य मान्दैन, अनित्य मान्दछ । साथै त्यसले चित्तलाई त्यसभित्रका कुशल र अकुशल भावनाको निरन्तर द्वन्द्व एवं एकतामा गतिशील हुने परिवर्तनशील तत्वको रुपमा चित्रण गर्दछ । बौद्ध धर्म दर्शनमा चित्त, चित्तको स्वरुप र चित्तको परिवर्तनको प्रक्रियालाई नै वोधि प्राप्त गर्नका लागि हिँड्ने मार्गका मुख्य विषयवस्तु मानिएका छन् । त्यसैले यस दर्शनमा चित्त नै आधारभूत तत्व हो ।
चित्तको द्वन्द्वात्मकता
पश्चिममा १९ औं शताव्दीको पूर्वाद्धमा जर्मन दार्शनिक हेगेलले बिचार र प्रतिविचारको द्वन्द्व वा अन्तर्क्रियाबाट संश्लेषित निचोड नै सही विचार हुने सिद्धान्त प्रतिपादन गरेका थिए । त्यसलाई द्वन्द्ववाद भनियो । हेगेलको द्वन्द्ववादले केवल बिचार विकासको प्रक्रियालाई मात्र सम्वोधन गर्ने प्रयास गर्यो, त्यसले भौतिक पदार्थ विकासको प्रक्रियालाई छोएन । त्यही शताव्दीमा मार्क्सवादले यसलाई समग्रतामा हेरी थप विकास गर्यो । मार्क्सवादले विकास गरेको द्वन्द्ववादमा विचार तथा समग्र भौतिक पदार्थ विकासको प्रक्रियालाई समेटिए ।
मार्क्सवादी द्वन्द्ववादमा मुख्य गरी तीन कुरालाई जोड दिइयो– पहिलो: पक्ष र विपक्षहरुबीच द्वन्द्व र एकता, दोश्रो:गति अर्थात् परिवर्तनशीलता र तेश्रो: निषेधको निषेध । कुनै पनि वस्तु वा कुरा (matter or phenomenon) स्थिर हुन्न, निरन्तर परिवर्तनमा रहन्छ ।
अर्थात्, हरेक कुरा गतिशील हुने द्वन्द्ववादको निष्कर्ष रहेको छ । त्यो गतिशीलता वा परिवर्तनशीलताको कारक कुरा त्यसभित्रका विपरित पक्षहरुबीचको द्वन्द्व र एकता हो । यसलाई विपरित पक्षहरुबीचको अन्तरविरोधपूर्ण एकताले नै कुनै कुराले गतिशीलता वा परिवर्तनशीलता प्राप्त गर्ने हो भनेर पनि भनिन्छ । परिवर्तन मात्रात्मक र गुणात्मक गरी दुई प्रकारको हुन्छ । कुनै पनि कुराभित्र परिवर्तन निरन्तर हुने भएपनि जबसम्म विपरित पक्षहरुमध्ये एकले अर्कालाई निषेध गरेको हुन्न, तबसम्म गुणात्मक परिवर्तनले स्थान पाउँदैन ।
विपरित पक्षहरुमा एकले अर्कोलाई निषेध नगर्दाको स्थितिसम्मको परिवर्तन मात्रात्मक परिवर्तन हो भने एकले अर्कोलाई निषेध गरेको स्थितिमा गुणात्मक परिवर्तन आएको हुन्छ । तर, गुणात्मक परिवर्तन पछि पुनः नयाँ विपरित पक्षहरु उत्पन्न भई वस्तुभित्र नयाँ अन्तरविरोधको जन्म हुन्छ । यो प्रक्रिया अगाडि बढेपछि त्यहाँ पहिले निषेध गर्ने पक्षलाई अर्को पक्षले निषेध गरी वस्तुमा फेरि अर्को गुणात्मक परिवर्तन आउँछ । धानको विउ नष्ट भई वेर्ना, वेर्ना नष्ट भई धान र पुनः धान विउमा परिणत भई त्यो विउ पनि नष्ट भई वेलना आउने कुराले वस्तु विकासको प्रक्रियामा निषेधको निषेध नियम लागू भएको उदाहरण दिइन्छ ।
- वास्तवमा प्रतीत्यसमुत्पाद सिद्धान्तले लगभग मार्क्सवादले उल्लेख गरेको द्वन्द्ववादको व्याख्यालाई समेटेको छ । तर, बौद्ध धर्म दर्शनमा यो सिद्धान्तलाई मूलतः चित्तको स्वरुप, विकास र प्रक्रियालाई चित्रण गर्ने मामिलामा नै लागु गरिन्छ ।
भगवान बुद्धले चित्तको अनित्यतालाई प्रधानता दिएका छन् । उनले अनित्यताको कुनै अपवाद नभएको बताएका छन् । अनित्यताको अर्थ परिवर्तनशीलता हो, नाशवान हो । उनले एउटाको विनाशबाट अर्कोको उत्पत्ति हुन्छ भनी निषेधको निषेध नियमलाई उल्लेख गरेका छन् । यो नियमलाई बुद्धले प्रतीत्यसमुत्पादको संज्ञा दिएका छन् । (सांकृत्यायन, राहुल, बौद्ध दर्शन, १९९२, पेज २९)
भगवान बुद्ध भन्छन्, ‘जसले, प्रतीत्यसमुत्पाद देख्छ, उसले धर्म (= बुद्धको दर्शन) लाई देख्दछ ; जसले धर्मलाई देख्दछ, उसले प्रतीत्यसमुत्पादलाई देख्दछ’ । (उही, पेज ३०)
वास्तवमा प्रतीत्यसमुत्पाद सिद्धान्तले लगभग मार्क्सवादले उल्लेख गरेको द्वन्द्ववादको व्याख्यालाई समेटेको छ । तर, बौद्ध धर्म दर्शनमा यो सिद्धान्तलाई मूलतः चित्तको स्वरुप, विकास र प्रक्रियालाई चित्रण गर्ने मामिलामा नै लागु गरिन्छ । प्रतीत्यसमुत्पाद सिद्धान्तमा चित्त विकासको प्रक्रियामा कार्यकारणको द्वन्द्वात्मक श्रृङ्खलालाई उल्लेख गरेको पाइन्छ । तर, बौद्ध दर्शनले चित्तको स्वतन्त्र अस्तित्व रहन सक्ने जनाई यसलाई भौतिक पदार्थको उपजको अर्थमा नबुझ्नाले विज्ञानको आँखाबाट हेर्दा यस दर्शनले चित्तको वास्तविकता जनाउने सन्दर्भमा खास सीमा देखाउँदछ ।
किनकि, संसारका दुई जगत भौतिक र चेतनमध्ये चेतन जगतमा चित्त पर्दछ र यो भौतिक जगतकै उपज रहेको विज्ञानले पुष्टि गर्दछ । त्यसैले चित्त भौतिक जगतबाट स्वतन्त्र अस्तित्वमा रहन सक्दैन । तर, बौद्ध दर्शनले चित्तलाई भौतिक शरीर अर्थात् भौतिक जगतबाट स्वतन्त्र रहन सक्ने चिजको रुपमा चित्रण गरेको छ । यही नै बौद्ध दर्शन भित्र चित्तको सीमा हो ।